
काठमाडौं । राष्ट्रिय मातृभूमि पार्टीले प्रथम स्थापना दिवसको अवसरमा कुशासन, भ्रष्टाचार र बेथितिविरुद्ध सडकमा मातृभूमि जन–जागारण तथा झाडुकुचो प्रदर्शन गरेको छ । पूर्वनिर्धारित कार्यक्रम अनुसार मंगलबार राजधानीको माइतिघर मण्डलामा सो पार्टीले नारबाजीसहित झण्डा,प्लेकार्ड र सांस्कृतिक कार्यक्रम प्रदर्शन गरेको हो ।
पार्टीका अध्यक्ष रामशरण पाण्डेले सडकमा बनाएको नेपालको नक्सामा भएको फोहोर(कुशासन र भ्रष्टाचारको प्रतिक)लाई झाडुकुचो लगाएर सफा गरेका थिए । सो प्रदर्शनलाई अध्यक्ष पाण्डेले सम्बोधन गर्दै वर्तमान संसदिय व्यवस्था कुशासन, भ्रष्टाचार तथा बेथितिको फोहररुपी डंगुरको संज्ञा दिएका थिए । सोही व्यवस्थाको जगमा विदेशीको आडमा बनेको वर्तमान ओली सरकार त्यसैको मतियार भएको बताउँदै पाण्डेले भने,“देश र जनताले न्याय, समृद्धि र सुशासन नपाउने भएकाले यसलाई फाल्नुको विकल्प छैन ।”
सो पार्टीका वरिष्ठ नेता केवी लिम्बुले आफूहरुले सुरु गरेको मातृ भूमि जन– जागरण अभियानलाई निकट भविष्यमा निर्णायक संघर्षमा परिणत गर्ने ठोकुवा गरे ।
पार्टीका उपाध्यक्ष तथा अर्थविद टुलराज वस्यालले पछिल्लो सरकारले वैदेशीक ऋण थुपारेर आफू वरिपरिका मान्छेहरुलाई पोषेर भ्रष्टाचारलाई बढावा दिइरहेकोले यसको विकल्प खोज्नु पर्ने धारणा राखे ।
सुशासन एवं नेपालवादका अभियन्ता तथा पार्टीका महासचिव गोविन्द गिरीले देशको गौरवशाली इतिहासलाई पछिल्ला शासकहरुले धुमिल गर्दै लगेको र त्यसको मुख्य कारण नै संसदिय व्यवस्था र कुशासन भएको बताए । वीर गोरखाली, सगरमाथा र गौतम बुद्धको देश भनेर विश्वमा प्रख्र्यात मुलुक आज भ्रष्ट नेताहरुको कारण अन्तराष्ट्रिय क्षेत्रमा नेपाल भ्रष्ट र ठगहरुको मुलुककोरुपमा चित्रित हुनु चिन्ताको विषय भएको बताउँदै गिरीले भने,“अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘सहयोगमा ठगि भएको’ भन्नुले देशको अन्तराष्ट्रिय बेइजत भएको छ ।” “संघीयताका नाममा, धर्मका नाममा देश र जनतालाई विभाजित गर्न कुनै पनि देशको सहयोग लिन हुन्न, हाम्रो देश आफ्नै स्रोत र साधनले बनाउन सकिन्छ ।” गिरीले थपे । उनले स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गर्ने र सम्पत्ति सुद्धिकरण कानुन लागु गरे देश ग्रे लिस्टमा पनि नपर्ने तथा १०औँ वर्षलाई देश सञ्चालन गर्न पुग्ने बजेट सहजै उपलब्ध हुने बताए ।
सो कार्यक्रममा केन्द्रीय नेता भगवाती पौडेल, जनकवी भोला बरालले कविता वाचन, भिमशेन रिसाल र अन्नपूर्णेश्वरी श्रेष्ठको नाटक साथै कृष्ण भक्त महर्जनले व्यङ्ज्ञात्मक नृत्य प्रश्तुत गरेका थिए । सो कार्यक्रममा युवा मातृभूमी शक्ति(युमाश)का संयोजक सविन,पार्टीका युवा नेता आर.के ढकाल, पार्टीका सचिव यज्ञप्रसाद वस्याल, पार्टीका कोषाध्यक्ष केशवराज भट्टराई, पार्टी केन्द्रीय नेतृ गंगाकुमारी थापा, लक्ष्मण फुयाल र अन्जना शाहीलगायतको उपस्थिति रहेको सो कार्यक्रमलाई उप–महासचिव लक्ष्मिदत्त भट्टले सञ्चालन गरेका थिए ।