काठमाडौं । इजरायल र हमासबीचको युद्धविराम आजबाट लागु भएको छ । अमेरिका र कतारको पहमा भएको युद्धबिराम आजबाट कार्यान्वयनमा आएको हो ।
युद्धबिराम सम्बन्धी सम्झौतालाई इजरायलले मन्त्रिपरिषद्बाट अनुमोदन गरेसँगै आजबाट कार्यान्वयनमा आएको छ । सन् २०२३ को अक्टोबर ७ मा हमासले हमला सुरु गरेपछि युद्ध सुरु भएको थियो ।
अन्तर्राष्ट्रिय मेडिकल जर्नल ल्यान्सेटले इजरायली बमबारीबाट गाजापट्टीमा मात्र ७० हजार भन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको जनाएको छ । तर, हमास नेतृत्वको स्वास्थ्य मन्त्रालयले इजरायली हमलाबाट ४६ हजार ८९९ जना प्यालेस्टिनीको ज्यान गएको बताएको छ । त्यस्तै, एक लाख मानिसहरु घाइते भएको बताइएको छ ।
गाजाका करिब २३ लाख सर्वसाधारण आफ्ना घर छाडेर टेन्टमा कष्टकर जीवन जिउन बाध्य छन् । उनीहरुका ९० प्रतिशत घर इजरायली बमबारीबाट क्षतिग्रस्त भएको सञ्चार माध्यमहरुले बताएका छन् ।
त्यस्तै, इजरायलले हमासका शिर्ष नेताहरुलाई छानिछानी हत्या गरेको छ । जसका कारण हमासले ठूलो क्षति ब्यहोरेको छ ।
यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले युद्धबिराम कार्यान्वयन नभए फेरि हमला गर्ने चेतावनी दिएका छन् । युद्धबिराम तीन चरणमा कार्यान्वयनमा ल्याउने सहमति भएको छ ।
युद्धबिराम सम्झौत इजरायली समय अनुसार आज विहान ८ः३० बाट सुरु भएको छ । नेपाली समय दिउँसो १२ः१५ बजे हुनेछ ।