
ललितपुर । ललितपुर उद्योग बाणिज्य संघले फुटपाथ पसल र पार्किङ व्यवस्थापनका समस्याको सम्बोधनकालागि ललितपुर महानगरपालिकाको ध्यानाकर्षण गरेको छ । संघले अब्यबस्थित फुटपाथ पसल र पार्किङका कारण सर्वसाधारण, व्यापार व्यवसायीलाई मात्र नभई सम्बन्धित घरधनीहरुलाई समेत प्रत्येक्ष असर पुगेको तथा सरोकारवाला व्यापार व्यवसायीमात्र नभै ब्यापक जनगुनासो पनि बढेकाले महानगरपालिकालाई संवेदनशील हुन आग्रह गर्दै ध्यानआकर्षण गराएको हो । जिल्लाको आर्थिक क्रियाकलापमा अग्रणी भुमिका निर्वाह गर्दै आएको ललितपुर उद्योग बाणिज्य संघले मंसीर २१ गते शुक्रवार एक बिज्ञप्ति जारि गर्दै २०७४ अगाडी जनप्रतिनिधीविहिन अवस्थामा समेत ब्यापारिक केन्द्रका रुपमा रहेको लगनखेल–मंगलबार, ग्वार्को– पुल्चोक रुटमा फुटपाथ व्यवस्थापन, उचित सरसफाई सहित पार्किंग तथा ट्राफिक व्यवस्थापन कार्यहरुको आवश्यक संयोजन तथा सम्बन्धित निकायहरुमा संघले नीतिगत पैरवी निरन्तर गर्दै आएको उल्लेख गरेको छ ।
सोही रुटमा वैकल्पिक व्यवस्थाको छलफल समेत नगरि ललितपुर महानगरपालिकाले एकतर्फि निर्णय गरि पार्किङ्ग सम्बन्धित गतिविधीहरु अव्यहारिक रुपमा कार्यान्वयन गरिएको प्रति आपत्ति जनाएका छन । बिगतमा सम्बन्धित सरोकारवालासँग समन्वय गरि स्मार्ट सिटी बनाउने घोषणा तथा पार्किंग व्यवस्थापनकालागि प्रविधियुक्त क्तबअपभम स्मार्ट पार्किंगको व्यवस्था गरिने तर्फ पर्याप्त कार्य नभएको संघको बिज्ञप्तिमा उल्लेख छ ।
समस्याको समाधान तर्फ २०७२ सालमा पनि संघको अगुवाईमा रात्रीकालिन पर्यटन, होमस्टे सम्बन्धि दीगो अवधारणा पेश गरिएको स्मरण गराईएको छ । यस विषयको समाधान तर्फ पाटन क्षेत्र भित्रका विभिन्न स्थानहरुमा स्थानिय समुदाय, टोल संघ संस्थासँगको सहकार्य र सम्वन्धित निकायहरुको समन्वयमा बैकल्पिक पार्किङ्गको ब्यवस्था मिलाउने सम्भावनाहरु रहेको तर्फ संघले समन्वयको पहलकदमी लिन सक्ने बताउँदै सो सम्बन्धमा ललितपुर महानगरपालिकाको निःशुल्क र सःशुल्क पार्किंग व्यवस्थापनबारे स्पष्ट धारणा तथा नीतिगत परिमार्जन आवश्यक रहेको प्रति संघले ध्यानाकर्षण गराएको छ । यीनै बिषयमा पछिल्लो पटक संघसंग आवद्ध ३० वटा बस्तुगत संघ समेतको ऐक्यबद्धतामा २०८१ मंसीर २० गते बिहिबार नगर प्रमुख चिरीबाबु महर्जनज्यूसँग यस बिषयमा उहाँकै कार्यकक्षमा बैठक बसी ९ बुँदे सुझाव सम्मिलित ज्ञापन पत्र समेत पेश गरिएको संघका अध्यक्ष बिश्व राज बज्राचार्यले बताएका छन । बिज्ञप्तिमा हालको आर्थिक मन्दीले उद्योग व्यवसाय धरासायी बन्दै गएको अवस्थामा जनप्रतिनिधिले थप सहायता दिनुपर्नेमा जोड दिंदै यस बावजूद पनि मूलूककै अर्थतन्त्रको प्रमुख मेरुदण्डका रुपमा रहेको नीजि क्षेत्रले ललितपुर महानगरपालिकाको २०८०/८१को राजश्व संकलन लक्ष्यमा मात्र पनि ८१.७% (करीब १६.३४ करोड) संकलित हुनमा ठूलो योगदान पुर्याएको उल्लेख छ ।
अर्काेतर्फ, चरणबद्ध रुपमा फुटपाथ पसलहरुको व्यवस्थापन गरिने आश्वासन पाएतापनि अपेक्षित तदारुकताको कमीले राज्यलाई राजश्व तथा कर बुझाउँदै आएका व्यवसायीहरु हतोत्साहित बन्न थालेका उल्लेख गर्दै संघका अध्यक्ष बज्राचार्यले भन्नुभयो, “ललितपुरको लगनखेलदेखि मंगलबजारसम्म फुटपाथ व्यवसाय मौलाएको हुँदा सटर भाडा तिरेर सञ्चालनमा आएका व्यवसायीहरू मर्कामा परेको जगजाहेर छ । मेयर महर्जनले यस सम्बन्धमा अध्ययन तथा आवश्यक पहलकदमी लिने आश्वासन संघले लिएको जनाएको छ । तर यस समस्याको सम्बोधनमा ढीलासुस्तीले नीजि क्षेत्रका व्यवसायीहरु बाध्य भई आफ्ना उद्योग व्यवसायका सटरहरु बन्द गर्दै थप आन्दोलित हुन सक्ने सरोकारवालाहरुको भनाइ रहेको छ ।
पार्किंग व्यवस्थापनसँगै समस्याका रुपमा रहेका फुटपाथ व्यवसायलाई चाँडै कानूनी दायरामा ल्याई बिशेषतः व्यवस्थित हाटबजार तथा रात्रीकालीन बजार सञ्चालनका नीति अपनाई समाधान उन्मुख रचनात्मक कार्य तत्काल अगाडी बढाउन संघ माग गरेको । संघले यसतर्फ नीजि क्षेत्रको तर्फबाट दीगो समाधान उन्मुख सुझावहरुको यथासिघ्र सम्बोधन तथा आवश्यक चरणबद्ध औपचारिक बैठक समेत आयोजनाकालागि ललितपुर महानगरपालिकालाई आह्वान समेत गरेको छ ।