काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङकी पत्नी ज्योति गुरुङविरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको छ । उनीसँगै ज्योति बहादुर भण्डारीलाई पनि नोटिस जारी भएको छ ।
सीआईबीका अनुसार मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न ज्योति र गुरुङ र भण्डारीविरुद्ध इन्टरपोलको महासचिवालयबाट रेड नोटिस जारी भएको हो ।
ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचतको रकम अपचलन गरेको फरार गुरुङ र भण्डारीलाई पक्राउ पुर्जी जारी भएको थियो ।
गुरुङ र बर्दिया घर भएका ज्योति भण्डारीले सहकारीको ३ करोड ४४ लाख रुपैयाँ अपचलन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
सहकारीको रकम अपचलन गरेको आरोपमा गुरुङ र भण्डारीसँगै सुजन शाक्य, हितमान थापा र प्रकाश यादवविरुद्ध पनि अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।
सहकारीको समस्या बाहिर आउने भएपछि उपसभापति धनराज गुरुङ र ज्योतिले सम्बन्ध विच्छेद गरेको आरोप लागेको छ ।