काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुना राख्न म्याद थपबारेको आदेश आउन लागेको छ । आइतबार म्याद थप गर्ने प्रयोजनका लागि कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासमा बहस भएको थियो ।
शुक्रबार साँझ प्रहरीले रवि लामिछानेलाई काठमाडौँबाट पक्राउ गरी कास्की पुर्याएको थियो । हिजो शनिबार भएकाले आज म्याद थपको लागि अदालत उपस्थित गराइएको थियो । लामिछानेमाथि प्रहरीले सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गर्न लागेको छ ।
यसैबीच लामिछानेको पक्राउविरुद्ध नेता कार्यकर्ताहरु सडकमा निस्किएका छन् । उनीहरुले विहानैबाट पोखरामा विरोध प्रदर्शन गरिरहेका छन् । निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पानीको फोहोराले तितरवितर गरेको थियो ।
उपद्रो मच्चाएको भन्दै एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।