काठमाडौं । यो दशैंमा वर्ष महाअष्टमी र महानवमी पर्व आज एकैदिन परेको छ । हिन्दू धर्मालवलम्बीहरुले विहानैदेखि महाकाली, महालक्ष्मी र महासरस्वती र दुर्गा भवानीको पूजा आजा गरिरहेका छन् ।
आज दसैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ ।
आजैका दिन राति कालरात्रीका रुपमा पशुबलीको विधि र पूजा आराधना सहित मनाउने गरिन्छ । कालरात्रीको पूजा विधि र सङ्कल्प समेत छुट्टै हुने भएकाले यसको विशेष महत्व छ । ब्राह्मणले भने कालरात्री पूजा पनि गर्न नपर्ने विधान छ ।
विहानैबाट देशभरका शक्तिपीठहरु भक्तजनको घुइँचो लागेको छ । काठमाडौं उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई, भाटभटेनी, बगलामुखी लगायत देवी मन्दिरहरुमा पनि बलीसहित पूजा आजा गर्नेहरुको बिहानैदेखि घुइँचो लागेको छ ।
त्यसैगरी गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डढेलधुराको उग्रतारा, काभ्रेको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवती, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथीभरा,अर्घाखाँचीको सुपादेउरालीलगायतका शक्तिपीठहरुमा पनि बलीसहित पूजा आराधना गर्ने श्रद्धालु भक्तजनहरुको घुँइचो लागेको छ ।
आज कलपूर्जा, हातहतियार र यातायातका साधनलाई विशेषरुपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशुबलि सहित पूजा आजा गर्ने गरिन्छ । यी साधनलाई देवीको शस्त्र अस्त्रका रुपमा मानी पूजा गर्ने गरिएको हो ।