नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत उपभोग गरेका ४९ उद्योगलाई कात्तिक ८ गतेभित्र बक्यौता रकम बुझाउन सूचना जारी गरेको छ । प्राधिकरणले बिहीबार ४९ वटा उद्योगको नाम सार्वजनिक गर्दै महसुल नबुझाएमा कानुन बमोजिम असुल उपर गर्ने चेतावनी सहित आज गोरखापत्रमा महसुल तिर्न सूचना निकालिएको हो।
ऊर्जा, जलस्रोत सिंचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई मंगलबार १५ बुँदे स्पष्टीकरणसहित हालसम्मको विवरण मागेको भोलिपल्ट प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता रकम तिर्न उद्योगहरुलाई डेडिकेटेड तथा ट्रंकलाइन बक्यौता भएका उद्योगलाई कात्तिक ८ गतेको अल्टिमेटमसहित पत्र पठाइएको छ ।
यस अघि प्राधिकरणले असार ९ गते पनि १५ दिनको अल्मिेटमसहित बक्यौता तिर्न सम्बन्धित ६१ उद्योगीलाई पत्राचार गरेको थियो। प्राधिकरणले लाल आयोगको सिफारिसबमोजिम २०७२ माघदेखि २०७५ वैशाखसम्मको करिब ६ अर्ब ६० करोड रुपैयाँ बक्यौता १५ दिनभित्र बुझाउने गरी सम्बन्धित उद्योगलाई पत्र पठाएको थियो। अहिले पनि सोही अवधिको बक्यौता बुझाउन उद्योगलाई पत्र काटिएको हो।
प्राधिकरण आर्थिक प्रशासन विनियमावली, ०६८, विद्युत् वितरण विनियमावली, २०६९ को विनियम २० र विद्युत् महसुल संकलन विनियमावली, ०७३ को विनियम ५ (१३) मा प्राधिकरणका उपभोक्ताहरूलाई बिलिङ गर्दा जुनसुकै कारणबाट छुट भएमा सोको जानकारी भएपश्चात् जुनसुकै समयमा छुट बिल गर्ने कानुनी व्यवस्था रहेको छ।
प्राधिकरणले बक्यौता नतिरेको भन्दै गत असार २५ गतेदेखि उद्योगको लाइन काट्न सुरु गरेको थियो। सरकार परिवर्तनसँगै प्राधिकरणले लाइन जोडेको थियो। सरकारले ३ महिनाभित्र बक्यौता विवाद सुल्झाउन नसके पुनः लाइन काट्ने प्राधिकरणले त्यतिबेलै बताएको थियो।
प्राधिकरणले जारी गरेको सूचना –

यस सम्बन्धित समाचार –
कुलमान घिसिङलाई हटाउने सरकारको कसरत जारी, सोधियो १५ दिने स्पष्टिकरण https://onlinedabali.com/archives/100275?fbclid=IwY2xjawF0LhBleHRuA2FlbQIxMQABHXpL2KJ264H-AgyzNdl2Hgratqg70rWu8EH6KlSxEdglXJtGePLkV-txVw_aem__M8v4vN0tz9OcypeKJPYOQ



अनलाइन डबली





