काठमाडौं । यो वर्षाको समयमा बाढी र पहिरोले मेलम्ची खानेपानी आयोजनामा उल्लेख्य कुनै क्षति पुर्याएन । वर्षा कम भएसँगै आजबाट मेलम्चीको पानी काठमाडौँको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पथान्तरण गरिएको छ ।
मेलम्चीका सङ्घर्ष समिति र खानेपानीमन्त्री प्रदीप यादवबीच सोमबार अबेरसम्म भएको वार्तामा काठमाडौँमा मेलम्चीको पानी पठाउने सहमति भएको हो । योसँगै मेलम्ची बाढी पीडित सङ्घर्ष समितिबाट आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको छ ।
विभिन्न माग राखेर हेलम्बु गाउँपालिकाको मेलम्ची गएर सङ्घर्ष समिति एवं त्यहाँका सरोकारपक्षले आन्दोलन गरिरहेका थिए । मन्त्रीसँग भएको वार्तामा सङ्घर्ष समितिले राखेका जायज मागहरूलाई सम्बोधन गरिने सहमति भएपछि मेलम्चीको पानी काठमाडौँ आउने भएको हो ।
आयोजना पुनःनिर्माण तथा स्थानीय यातायातका लागि बाह्रै महिना सञ्चालन गर्नेगरी अबको तीन महिनाभित्र बहुवर्षीय ठेक्का प्रक्रिया अगाडि बढाउने गरी खानेपानी मन्त्रालयले पहल गर्ने सहमति बनेको छ ।