
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी तराई मधेस जागरण अभियान नवलपुर पुगेको छ । अध्यक्ष प्रचण्डसहितका नेताहरु विहानैबाट जनतासँग भेटघाटमा व्यस्त रहेका छन् ।
अध्यक्ष प्रचण्डले देवचुली नगरपालिका–१६, रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको अनुगमन गरेका छन् । चिकित्सालय भ्रमणपछि नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान तथा अन्तर्क्रिया कार्यक्रमसमेत सम्पन्न भएको छ। उक्त कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले प्राकृतिक चिकित्सा प्रणालीको महत्त्वबारे चर्चा गरे ।
स्थानीय स्तरमा स्वास्थ्य पूर्वाधारको विकासका लागि समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेकोमा जोड दिए । अध्यक्ष प्रचण्डले यसअघि महिला आवाससहितको नयाँ उपचार कक्षको उद्घाटन समेत गरेका थिए । प्रधानमन्त्री रहेका बेला उहाँले संघीय सरकारबाट १३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिँदै प्रदेश सरकारलाई पनि थप लगानी गर्न आग्रह गरेको जानकारी दिए ।
‘स्थानीय रूपमा सुरु गरिएको यस चिकित्सालयले आज देशकै महत्वपूर्ण स्वास्थ्य संस्थाको रूपमा परिचय बनाइसकेको छ, नेपालको योगा तथा प्राकृतिक चिकित्सा प्रणालीले पश्चिमी चिकित्सा प्रणाली र एलोपेथिक प्रवृत्तिमा देखिएको बेथिति हटाउँदै, सस्तो र सुलभ स्वास्थ्य सेवा प्रदान गरिरहेको छ’ प्रचण्डले भने ।
प्रचण्डले आफु सरकारमा रहँदा पनि यस संस्थाको विकासमा निरन्तर सहयोग पुर्याएको उल्लेख गर्दै आगामी दिनमा यसलाई प्राकृतिक चिकित्सा शिक्षण अस्पताल तथा विश्वविद्यालयको रूपमा विकास गर्न आफ्नो पार्टीले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
अभियानकाे क्रममा जनताकाे सहभागिता व्यापक रहेकाे नेताहरूले बताएका छन् ।