
कालिकोट जिल्लाको तिला कर्णाली बहुमुखी क्याम्पसमा आइतबार सम्पन्न विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन २०८१ मा अध्यक्ष पदमा अखिल नेपाल विद्यार्थी युनियन (क्रान्तिकारी) का हिक्मत सिंह पुनः निर्वाचित भएका छन्।
उनले ७२ मत प्राप्त गरी दोस्रो पटक अध्यक्ष पदमा विजयी हुन सफल भएका हुन्। उनका प्रतिस्पर्धी अनेरास्ववियु र नेविसंघको गठबन्धनबाट उम्मेदवार बनेकी दिपा शाहीले ५३ मत प्राप्त गरेकी छन्।
सचिवमा नेविसंघ र अनेरास्ववियुको गठबन्धनका खगेन्द्र पाण्डेले ७१ मत हासिल गरी जित दर्ता गरे भने साझा प्यानलका उम्मेदवार उमेश शाहीले ५७ मत प्राप्त गरेका छन्।
कोषाध्यक्ष पदमा साझा प्यानलकी मिना शाहीले ६३ मत लिएर विजयी भइन् भने गठबन्धनकी दुर्गा शाहीले ६२ मत प्राप्त गरेकी छन्। स्वतन्त्र उम्मेदवार शर्मिला शाहीले ३ मत मात्र प्राप्त गरेकी छन्।
कुल १४५ मतदाता रहेको निर्वाचनमा १३३ मत खसेको थियो। अध्यक्ष पदमा पुनः निर्वाचित सिंहले आफ्नो पहिलो कार्यकालमा सुरु गरिएका तर पूरा नभएका योजनाहरू सम्पन्न गर्ने प्रतिवद्धता जनाएका छन्।