
सुर्खेत – कालिकोटको महाबै गाउँपालिकामा मंगलबार र बुधबार (चैत २६ र २७ गते) निशुल्क आँखा शिविर सञ्चालन हुँदै छ। हिमालयन आँखा अस्पताल, पोखराको प्राविधिक सहयोगमा महाबै आधारभूत अस्पताल, ओदामा सञ्चालन हुन लागेको उक्त शिविरमा आँखासम्बन्धी जाँच, उपचार तथा आवश्यक परे सर्जरी सेवा समेत प्रदान गरिनेछ। शिविरको सम्पुर्ण व्यवस्थापनका साथै कार्यक्रममा सहभागी हुने स्वास्थ्यकर्मी तथा अन्य अतिथिहरूको खान बस्नको प्रबन्ध पनि ओदा फाउन्डेसनले गरेको छ ।
नेत्र ज्योति संघ, कालिकोटको समन्वयमा सञ्चालन हुने यस शिविरमा विशेषगरी आँखाको समस्या भएका सर्वसाधारण, विशेषतः वृद्धवृद्धा तथा आँखाका दीर्घरोगीहरूलाई लक्षित गरि कार्यक्रम संचालन गर्न लागिएको गाउँपालिका अध्यक्ष खेम बहादुर सिंहले जानकारी दिए ।
शिविरमा सहभागी हुन इच्छुक सेवाग्राहीहरूले महाबै आधारभूत अस्पताल, ओदामा सम्पर्क गर्न आग्रह गरिएको छ। यसअघि पनि पालिकाले चैत २१ र २२ गते दुइदिने स्वास्थ्य शिविर सञ्चालन गरेको थियो, जसबाट ६६९ जना सर्वसाधारण लाभान्वित भएका थिए।
यस किसिमका निशुल्क स्वास्थ्य सेवाहरूले दुर्गम बस्तीहरूमा स्वास्थ्य पहुँच अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।