
बिरेन्द्रनगर। यही चैत १५ गतेदेखि सुरु भएको कर्णाली प्रथम खुल्ला देउडा प्रतियोगिता सुर्खेतको सिटी हलमा प्रारम्भ भएदेखि नै सांस्कृतिक उत्साहको केन्द्र बनेको थियो। सांस्कृतिक संरक्षक समाज सिमकोट, हुम्लाको आयोजनामा ३६ वटा टोलिहरू सहभागि रहेको यो प्रतियोगिता चैत २१ गतेसम्म सञ्चालन भएको थियोे । तर अन्तिम चरणमा आइपुग्दा विवाद चुलिँदै गएपछि प्रतियोगिता फाइनल नहुँदै स्थगित गरिएको छ।
प्रतियोगिताको उद्घाटन समारोहमा पूर्व मुख्यमन्त्री जीवन बहादुर शाही, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी लगायत विभिन्न विशिष्ट अतिथिहरूको उपस्थिति थियो। प्रतियोगिताको सुरुवात उत्साहजनक ढंगले भए तापनि अन्त्य विवादास्पद रह्यो।
दैलेख — ठाटिकाध गाउँपालिका वडा नं. ६ का देउडा खेलाडी जयबहादुर थापाले निर्णय प्रक्रियामा अनियमितता भएको दाबी गर्दै जिल्ला प्रशासन कार्यालय, सुर्खेतमा मुद्दा दायर गरेका छन्। उनका अनुसार निर्णायक समितिले तोकिएको पूर्णाङ्कभन्दा बढी नम्बर दिएको छ, जसका कारण कम नम्बर ल्याउने समूहलाई प्रथम बनाइएको र बढी नम्बर ल्याउनेलाई अन्तिम बनाइएको छ।
निर्णायक मण्डलमा सुरुमा देउडा सम्राट नन्दकृष्ण जोशीको संयोजकत्वमा समिति बनाइएको थियो। सदस्यहरूमा रेखा जोशी, नेत्रराज शाही र शान्ति शाही थिए। कार्यक्रमकै बीचमा नन्दकृष्ण जोशी र रेखा जोशी काठमाडौं फर्किएपछि निर्णायक मण्डलको संयोजक नेत्रराज शाही (कालिकोट) बनेका थिए भने सदस्यमा जुम्लाकी शान्ति शाही र हुम्लाका कालीबहादुर भण्डारी थपिएका थिए। त्यसपछि विवाद सुरु भएको खेलाडीहरूको आरोप छ।
प्रतियोगितामा सहभागी खेलाडीहरूले निर्णायक समिति र आयोजकमाथि आशंका व्यक्त गर्दै निष्पक्ष मूल्यांकनको माग गरेका छन्। कालिकोटका देउडा खेलाडी भानुप्रभात पाण्डेले निर्णायक समितिले सुरुमा निष्पक्ष मूल्यांकन गर्ने भने पनि अन्त्यमा त्यो नगरेको बताए। उनले भने, “देउडाको मर्मअनुसार सही मूल्यांकन भएको छैन।”
जाजरकोट जुनिचादेका देउडा खेलाडी रामबहादुर रावतले “निर्णायक र आयोजक समिति आ–आफ्नै तरिकाले चलेको र निष्पक्षताको खडेरी देखिएको” आरोप लगाए। देउडा प्रेमी भगवती देवकोटाको भनाइमा, “सुरुमा कुनै विवाद थिएन। तर निर्णायकहरूले पूर्णाङ्कभन्दा बढी नम्बर दिएका घटनाले मूल्यांकन प्रक्रियाप्रति प्रश्न उठाएको हो।”
खर्च, स्रोत र पारदर्शितामा प्रश्न
प्रतियोगिता सञ्चालनमा झण्डै ११ लाख रुपैयाँ खर्च भएको आयोजकले जनाएका छन्। जसमध्ये देउसी–भैलो खेलेर ४ लाख ५० हजार रुपैयाँ संस्था आफैंले जुटाएको हो। बाँकी रकम कहाँबाट र कसरी संकलन गरियो भन्ने विषयमा पारदर्शिता नरहेको सहभागीहरूको गुनासो छ। आयोजक संस्थाका अध्यक्ष तिर्थराज रोकायले सामाजिक विकास मन्त्रालयमा निवेदन दिए पनि कुनै रकम नलिएको बताएका छन्। उनका अनुसार केहि रकम टिकट बिक्रीबाट उठाइएको छ । त्यसको हिसाबकिताब गर्न बाकी छ ।
प्रतियोगिता पूर्ण रूपमा सम्पन्न नहुनु र अन्त्यमा देखिएको विवादले कर्णाली प्रदेशको देउडा सांस्कृतिक पहिचानमा गम्भीर प्रहार भएको भन्दै धेरै कलाकार तथा खेलाडीहरू आक्रोशित छन्। आयोजक संस्थाका अध्यक्ष रोकायको भनाइमा, “प्रतियोगिता निष्पक्ष नै भएको थियो। तर केहीले निर्णयप्रति असहमति जनाउँदै फाइनल हुन नदिई मुद्दा दायर गरेका छन्। हामी छलफल गरेर यसको टुंगोमा पुग्छौं।”