आज :

इलाममा चिया टिप्दै १५ देशका कूटनीतिज्ञहरु, ‘पर्यटन दूत’ बन्न मन्त्रीको आग्रह

  • अनलाइन डबली

इलाम । नयाँ बर्ष २०८२ मनाउन परराष्ट्रमन्त्री आरजु राणा देउवासहित करिब १५ देशका राजदूत एवम कुटनीतिज्ञहरु इलाममा छन् । मन्त्रालयको नियमित कार्यक्रम अन्तर्गतको ‘डिप्लोम्याटिक रिट्रिट’का लागि उनीहरु यस पटक इलाम पुगेका हुन् ।

आइतबार इलामको कन्याम पुगेर सांस्कृति पहिरनसहित घोडा सवार गरेका उनीहरु सोमबार अन्तु भ्रमणमा छन् । सोमबार विहान अन्तुडाँडामा पुगेर सूर्योदय दृश्यावलोकन गरेका उनीले अन्तु पोखरीमा डुंगा सयर पनि गरे ।

डुंगा सयरपछि चियावारीमा उत्रिएका उनीहरुले मौलिक पारामा चिया टिपेर मनोरन्जन समेत लिएका छन् । डाडाँमा चिया टिपेर चोयाको डालोमा लगाएर रमाइलो गरिरहेका उनीहरुले नेपालमा चिया पर्यटनको चर्चा समेत गरेका छन् ।

परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईसहित सबै राजदूतहरुले चिया बगान छिरेर आधा घन्टासम्म चिया टिपेका थिए । ‘सबै राजदुतहरुले फरक अनुभव लिए । नेपालीहरुले चिया टिप्ने शैली उनीहरुले बुझ्ने मौका पाए । चिया कसरी तयारी गरिन्छ भन्ने जानकारी समेत लिए,’सचिव राईले भने ।

सूर्योदयका नगर प्रमुख रण बहादुर राईले राजदूतहरुले टिपेको चिया प्रशोधन गरी तयार पारेर उनीहरुलाई नै कोशेली स्वरुप पठाउने घोषणा पनि गरे । इलामको चिया चिनाउनका लागि यस्तो प्रयास गरिएको उनले जानकारी दिए ।

अन्तु भ्रमणकै सिलसिलामा अनौपचारिक कार्यक्रम अन्र्तगत अन्तुमै चिया टेष्टिङ पनि गराइएको छ । सूर्योदय टि प्रोडुर्सस एसोसिएसन र राष्ट्रिय चिया तथा कफी बिकास बोर्ड चिया बिस्तर योजना फिक्कलले बिभिन्न १६ जातका चिया टेष्टिङ गराएको हो ।

नेपाली चियाका बिभिन्न जात चखाएर नेपाली चिया बिश्व बजारमा प्रवर्धन गर्नका लागि चिया टेष्टिङको कार्यक्रम राखीएको सूर्योदय टि प्रोडुर्सस एसोसिएसनका सचिव गोपाल कट्टेलले जानकारी दिए ।

चिया टेष्टिङसंगै चियाका प्रकार बारेमा जानकारी गराइएको थियो । ब्ल्याक टि, अर्थोडक्स ग्रीन टि, उलङ टि, सिल्भर टी, गोल्डेन टीको स्वाद चखाइएको राष्ट्रिय चिया तथा कफी बिकास बोर्ड चिया बिस्तार योजना फिक्कलका चिया प्राविधिक नविन कोइरालाले जानकारी दिए ।

नेपाली नयाँ बर्ष २०८२ को अवसरमा नेपालका लागि बिभिन्न देशका राजदुत आइतबार इलामको सूर्योदय नगरपालिका पुगेका हुन् । परराष्ट्र मन्त्रालय र नेपाल टुरिजम बोर्डको आयोजना तथा नगरपालिकाको समन्वयमा अनौपचारिक भ्रमण अन्र्तगत १५ देशका राजदुत आइतबारदेखि इलाम भ्रमणमा गएका हुन् ।

परराष्ट्रमन्त्री डा.देउवाको नेतृत्वमा, मन्त्रालयका सचिव राईसहितका कर्मचारी, टुरिजम बोर्डका कर्मचारी राजदुत सहित ४५ जना बढी उच्च तहका पदाधिकारी भ्रमणमा सहभागी छन् ।

भ्रमण अन्र्तगत सोमबार अन्तु पोखरीमा राजदूतहरुलाई डुंगा सयर गराउनुका साथै माछा झिक्ने (फिसिङ) गरिएको छ ।

मन्त्रालयले वार्षीक रुपमा बिभिन्न देशका राजदूतलाई नयाँ बर्षको अवसरमा नयाँ पर्यटकीय गन्तब्यमा भ्रमण गराउने कार्यक्रम अनुसार यसपटक सूर्योदय नगरपालिकाको अन्तुमा र कन्याममा कार्यक्रम तय भएको थियो ।

नगरले राजदुतको स्वागतमा बिभिन्न सांस्कृतिक तथा सांगीतिक कार्यक्रम आयोजना गरेको छ । राई, लाप्चा र नेवारी नृत्यसहित साकेला र झाक्री नाचले स्वागत गरिएको थियो ।

भ्रमणमा इजिप्ट, दक्षिण कोरिया, यूके, स्वीटजल्याण्ड, थाइल्याण्ड, अष्टे«लिया, फ्रान्स, इजरायल, जापान मलेसिया, श्रीलंका, बंगलादेश र इसीमोडका राजदूत सहभागी छन् । टोली बैशाख २ गतेसम्म इलाममा नै रहनेछन् ।

कूटनीतिज्ञहरू नेपालको पर्यटनका ‘राजदूत’ बन्नुपर्छ: मन्त्री राणा

भ्रमणका क्रममा राखिएको एक समारोहमा परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले नेपालको विकास र समृद्धको आधार पर्यटन भएको बताइन् । उनले नेपालका अद्वितीय संस्कृति र सम्पदा एवं प्राकृतिक सौन्दर्य विश्वका प्रमुख आकर्षण भएकाले मुलुकको विकास र समृद्धिका आधार रहेको पनि औंल्याइन् ।

मन्त्री डा राणाले नेपालको सांस्कृतिक र प्राकृतिक विविधताका साथै इलामको सौन्दर्य, हरियाली, जैविक विविधता एवं सम्पदा र हिमशृङ्खलाको पनि प्रशंसा गरिन् । इलाम क्षेत्रको महत्त्व स्पष्ट पार्दै मन्त्री डा राणाले इलामलाई चियाका फाँटैफाँट, कुहिरोले ढाकेका डाँडाहरू र आत्मीय मनसहितका बासिन्दाहरूको भूमिका रूपमा पनि चित्रण गरिन् । उनले इलामको चिया, शुद्ध हावा, परम्परा र जीवनशैली अनुभव गर्न सबैलाई आग्रह पनि गरिन् ।

साथै मन्त्री राणाले सहभागी कूटनीतिज्ञहरूलाई नेपालको पर्यटनका ‘राजदूत’ बन्न पनि आग्रह गरिन् ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal