
काठमाडौं । कर्णालीका अगुवाहरुले अर्थमन्त्री वर्षमान पुनलाई आगामी वर्षको बजेटमा भौतिक पूर्वाधार र गरिबी निवारणमा कर्णालीलाई प्राथमिकता दिन अनुरोध गरेका छन् । सोमबार विहान मन्त्री निवास हरिहरभवनमा पुगेर उनीहरुले सो कुरा अवगत गराएका हुन् ।
मन्त्री पुनले कर्णालीका आवश्यकताका योजनालाई प्राथमिकता दिने र सोको लागि उपलब्ध सुझाव महत्वपूर्ण भएको बताए । मन्त्री पुनले भने “ कर्णालीको विकास र समृद्धिका लागि सरकारले विशेष योजना ल्याउने बारे सोचिरहेको छ, यस बारे सम्माननीय प्रधानमन्त्रीज्यूको विशेष निर्देशन पनि प्राप्त भएको छ ।” सोही अवसरमा केन्द्र सरकारले ठूला योजनामा जोड दिन लागिरहेको मन्त्री पुनले जानकार दिए ।
नेकपा(माओवादी केन्द्र) कर्णाली प्रदेश समिती सह–इन्चार्ज टेकबहादुर बस्नेतको नेतृत्वमा गएको टोलीले कर्णालीका अवश्यकता प्राथमिकता र नीतिगत सुझाव दिएको थियो । पूर्व मन्त्री समेत रहेका बस्नेतले सबैको धारणा समेटेर ल्याएको बताए ।
माओवादीकै प्रदेश अध्यक्ष बिमला केसीले कर्णाली माओवादी आधार इलाका भएकाले सरकारले विशेष ध्यान दिन आग्रह गरिन् । हुम्ला जिल्ला संयोजक तथा कर्णाली प्रदेश योजना आयोगका पूर्व सदस्य डा.दीपेन्द्र रोकायाले सामाजिक न्यायका लागि सरकारले न्यूनतम आयआर्जन कार्यक्रम ल्याउनु पर्ने, दिगो विकास र समृद्धिका लागि पूर्वाधार र लगानीमा जोड दिन पर्ने बताए ।
दैलेख नौमुले गाउँपालिका अध्यक्ष छबी सुवेदी, हुम्ला अदानचुली गाउँपालिका उपाध्यक्ष कर्ण रोकाया लगायतले आफ्नो प्राथमिकताका योजनाहरु बुझाएका थिए ।