काठमाडौँ । नगरकोटस्थित जाईका रिसोर्ट द जंगल रिट्रिटका संचालकाले वन क्षेत्रमा संरचना निर्माण गरी आफूलाई झ्क्याएर भाडामा लगाएको बताएका छन् । रिसोर्टका संचालक सुरेश भट्टराईले वन क्षेत्रमा अवैध संरचना निर्माण गरी भाडामा लगाएको र अहिले जबरजस्ती हटाउन लगाउँदा आफ्नो करोडौं लगानी डुब्न खतरामा पुगेको बताए ।
शुक्रबार संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजित पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले काभ्रेको मण्डनदेउपुर नगरपालिका –२ नगरकोटमा दिलिप नरसिंह राणा र डा.अभिलाशा शाहले वन क्षेत्रमा संरचना निर्माण गरी आफूलाई भाडामा लगाएको नगरपालिकाले जानकारी गराएपछि मात्रै थाहा पाएको बताए ।
‘हामीले ‘जाईका रिसोर्ट द जंगल रिट्रिट प्रा.लि.’ नामक रिसोर्ट संचालनको लागि २०७७ सालमा १० बर्षको लागि करार गरेका थियौँ । हामीलाई भाडामा लगाएका घरहरु वन क्षेत्रमा निर्माण गरिएको कुरा नपरपालिकाले भनेपछि मात्रै थाहा पायौं । हामीले जानकारी पाउनुसाथ रिसोर्ट बन्द गरेर जग्गाधनीलाई छलफल लागि पहल गरेका थियौँ तर जग्गाधनी सम्पर्कमा आउनुभएन । पछि एक्कासी खाली गर्न भनियो’ भट्टराईले भने ।
कार्यक्रममा बोल्दै रिसोर्टको कार्यकारी अधिकृत ऐश्वर्य बस्नेतले जग्गाधनी छलफलमा नआएकोले आफूहरु वडा, जिल्ला प्रशासन कार्यालयमा सीमांकनको लागि निवेदन दिन बाध्य भएको बताइन् । नापी कार्यालयले गरेको सीमांकनबाट वन क्षेत्रमा संरचना निर्माण गरी आफूहरुलाई भाडामा लगाएको बस्नेतले पुष्टि भएको बताइन् ।
‘जग्गाधनी छलफलको लागि नआएपछि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थियौँ । २०८१ जेठ २७ गते जिल्ला प्रशासन कार्यालयले नापी कार्यालयलाई सीमांकनको लागि पत्राचार गरेको थियो । नापी कार्यालयबाट खटिएका प्राविधिक कर्मचारीरले भाडाको लागि हामीसँग करार गरेका घरहरु वन क्षेत्रमा परेको पुष्टि भयो’ बस्नेतले भनिन् । उनले आफूलाई भाडामा लगाएका संरचना वन क्षेत्रमा निर्माण गरिएको पुष्टि भइसक्दा पनि जग्गाधनीले समस्या समाधानको लागि भन्दापनि गुण्डाको आडमा आफूहरुलाई उठिबास लगाउन लागिपरेको दाबी गरिन् ।
रिसोर्टको लागि भनेर भाडामा लगाएको घरहरु वन क्षेत्रमा निर्माण गरिएको पुष्टि भइसक्दा पनि जग्गाधनीले विना छलफल जबरजस्त आफूहरुलाई हटाउन खोजेको पीडितको आरोप छ । ‘रिसोर्ट संचालनको लागि ठूलो लगानी भइसकेको छ, जग्गाधनीले हामीलाई जबरजस्त हट्न धम्की दिइरहनुभएको छ । हाम्रो लगानी खेर जाने अवस्थामा पुर्याइएको छ । जसका कारण हामी आत्महत्या गर्नुपर्ने अवस्थामा समेत पुगेका छौं’ रिसोर्ट संचालक भट्टराईले भने ।