काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को जारी स्थायी कमिटी बैठक आजपनि बस्न लागेको छ । शुक्रबारबाट सुरु भएको बैठकमा शनिबारबाट अध्यक्ष प्रचण्डले राखेका प्रस्तावमाथि छलफल सुरु भएको छ ।
शुक्रबार पहिलो दिन बैठकमा एजेण्ड प्रस्ताव गरिएको थियो । नेताहरुले प्रस्तुत एजेण्डामाथि आफ्ना धारणा राखिरहेका छन् । प्रवक्ता अग्निप्रसाद सापकाेटाका अनुसार बैठकमा अध्यक्ष प्रचण्डले वृहत् वामपन्थी एकताका लागि पहल गर्ने र स्पष्ट कार्यदिशाका साथ जनतामा जाने प्रस्ताव राखेका छन् ।
शनिबारको बैठकमा देश र जनताको एजेण्डालाई प्रभावकारी रूपमा सदन र सडकमार्फत उठाउने, सङ्घर्षका कार्यक्रमलाई दुवै स्थानबाट प्रभावकारी रूपमा उठाउने र बृहत् वामपन्थी एकताका लागि पहल गर्ने विषयमा नेताहरुले धारणा राखेका थिए । त्यस्तै, पार्टीभित्र व्यापक रूपमा शुद्धीकरणको अभियानबारे छलफल भएको थियो ।
शनिबार अध्यक्ष प्रचण्डले मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टीले आगामी दिनमा लिने कार्यदिशा, विचार निर्माणलगायत विषयमा आफ्नो विचार राखेका थिए ।
त्यसैगरी अध्यक्षले राखेको धारणाका आधारमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष सापकोटा, उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनले मन्तव्य राखेका थिए । त्यस्तै, परशुराम तामाङ, सुरेन्द्र कार्की, गणेशमान पुन, कुलप्रसाद केसी, गणेश साह, देवेन्द्र पौडेल, अमृता थापामगर, चक्रपाणि खनालले पार्टीको कार्यदिशा र भावी रणनीतिका बारेमा आफ्नाे धारणा राखेका थिए ।
बैठक आज विहान ११ः०० बजे पुनः बस्न लागेको छ ।