
काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा आजबाट पोलियो विरुद्धको विशेष खोप अभियान सञ्चालन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको परिक्षणमा काठमाडौंको टुकुचाखोला र वाग्मती नदीको सङ्गमस्थल टेकुमा पोलियो जीवाणु भेटिएपछि काठमाडौं,ललितपुर र भक्तपुरमा खोप अभियान सञ्चालन गरिएको हो।
स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकालाई स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले ‘ओपिभी’ खोप खुवाइने बताउनु भयो । अभियान १२ गतेसम्म सञ्चालन हुनेछ । अभियानअन्तर्गत दुई लाख ८० हजार बालबालिकालाई खोप खुवाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।