आज :

देश लुट्नेलाई छाडिदैन: उपप्रधानमन्त्री श्रेष्ठ

  • अनलाइन डबली

नेपालगन्ज। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेकपा माओवादी नेतृत्वको वर्तमान सरकारले सानो समयमा पनि देश र जनताका लागि उदाहरणीय कामहरु गर्दै अगाडी बढेको बताउनुभएको छ ।

नेकपा माओवादी केन्द्र बाँके जिल्ला समन्वय समितिले शुक्रवार नेपालगन्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार नियन्त्रण, आर्थिक अवस्थामा सुधार र सामाजिक रुपान्तरणसंगै विकास निर्माणका काममा सरकारले उल्लेखनीय कार्यहरु गरेको बताउनुभयो ।

उहाँले सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न अझै पनि ठुला ठुला कार्य गर्ने प्रतिवद्धता जनाउँदै भ्रष्टाचार र देशको सम्पत्ति लुट्ने कार्यमा संलग्न कसैलाई पनि नछोडिने प्रष्ट पार्नुभयो ।

मन्त्री श्रेष्ठले भन्नुभयो–‘सरकारले शुरु गरेका सुशासनका काम पुरा गर्न कुनै पनि दवाव र हस्तक्षेपका अगाडी झुक्ने छैन, गलत कार्यमा संलग्न मानिस जुनसुकै ओहोदा वा दलको भएपनि कानुनी दायरामा ल्याइनेछ ।’

नेपाली काँग्रेससंगको वर्तमान सत्ता गठबन्धन पुरै अवधीका लागि जारी रहने जनाउँदै उहाँले यो सरकारले नेपाली जनतामा सकारात्मक सन्देश दिन सफल भएको बताउनुभयो ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले देशको आर्थिक अवस्थामा समेत सानो समयमै धेरै सुधारका संकेतहरु देखिएको जनाउँदै प्रधानमन्त्री प्रचण्डले बढी भन्दा बढी आर्थिक क्रियाक्लाप र गतिविधि गर्न सकिने गरि बजेट ल्याउने छलफल चलिरहेको बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष समेत रहनु भएका मन्त्री श्रेष्ठले सरकारलाई सफल बनाउन पार्टी पनि बलियो र चलायमान हुनु अतिआवश्यक भएको जनाउँदै नेता तथा कार्यकर्तालाई गुटबन्दीमा नलाग्न आग्रह गर्नुभयो ।

उहाँले व्यक्तिगत स्वार्थका लागि गरिने गुटबन्दी पार्टीका लागि सबैभन्दा घातक हुने बताउँदै गुटबन्दीमा नलागि पार्टीको विधि र विधान अनुसार अगाडी बढ्नु आवश्यक रहेको कुरामा विशेष जोड दिनुभयो ।

वर्तमान सरकारले नेपालको ईतिहासमा नभएका कामहरु गरेको उल्लेख गर्दै उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले पार्टीका नेता कार्यकर्तालाई जनताको घर घरमा पुगेर सरकारका राम्रा कामको प्रचार गर्न निर्देशन दिनुभयो । उहाँले पार्टीलाई बलियो र सुदृढ बनाउन नै माओवादी केन्द्रले हुलाकी राजमार्गमा तराई मधेश जनजागरण अभियान लगायत दुईवटा अभियान सञ्चालन गर्न लागेको जनाउँदै अभियान सफल पार्न सबैले एकजुट भएर लाग्न आह्वान गर्नुभयो ।

सो भेटघाटमा कार्यकर्ताहरुको तर्फबाट नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगर कमिटिका अध्यक्ष रतन शाही, जनप्रतिनिधिहरुको तर्फबाट नेपालगन्ज ११ का वडा अध्यक्ष नन्दकिशोर कहार र उद्योगी व्यवसायीको तर्फबाट नेपालगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष चिरन्जीवी ओलीले विचार राख्नु भएको थियो ।

नेकपा माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यकर्ता भेटघाटमा लुम्बिनी प्रदेशका सहरी विकास मन्त्री कृष्णा केसी, संविधानसभाका सदस्य पट्टु थारु, माओवादीका नेताहरु आइपी खरेल, नरेन्द्र न्यौपाने, अकल बहादुर बम, चन्द्रकान्ता, नविन शर्मा र दिपेन्द्र विष्ट लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal