
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटीको सातौं पूर्ण बैठक आजदेखि काठमाडौंमा बस्दैछ । बैठकका लागि गत २७ माघमा बसेको बैठकले एजेण्डा तय गरेको थियो ।
विहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुने बैठकमा राष्ट्रिय हित र जनसरोकारका विषय, जनपरिचालन र दबाब दिने विषयमा कार्ययोजना तयार गर्ने नेताहरूले जनाएका छन् ।
बैठकमा संगठनात्मक प्रतिवेदन प्रस्तुत हुँदैछ भने मिसन ग्रासरूट अभियानपछि पार्टीको ११ बुँदे वार्षिक कार्ययोजना तर्जुमा गरेको केन्द्रीय कमिटी बैठकमा त्यसको समीक्षा प्रतिवेदन प्रस्तुत हुने महासचिव शंकर पोखरेलले जानकारी दिए ।
उनका अनुसार बैठकले संमृद्धिका लागि संकल्प यात्राको विषयमा समेत समीक्षा गर्नेछ । यस्तै, पार्टीमा प्रवेश गरेका र अधिवेशनपछि जिम्मेवारीबाट बिदा भएका कार्यकर्ताहरूको व्यवस्थापनको विषय पनि केन्द्रीय कमिटी बैठकमा छलफल हुने जनाइएको छ ।
यसैबीच जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । फागुन १० गते बिहीबार बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बैठक बस्ने गरी बैठक बोलाइएको हो ।
प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिए । बैठकमा केन्द्रीय नेताहरुलाई जिम्मेवारी बाँडफाँट गर्नेलगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।