काठमाडौं । जाजरकोटका प्रदेश सांसद राजिवविक्रम शाहले भूकम्प प्रभावितको उद्दार तथा राहतका लागि सरकारले गरेको प्रयासको खुलेर प्रशंसा गरेका छन् ।
नेपाल न्युज बैंकसँगको कुराकानीमा नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभाका सांसद शाहले प्रधानमन्त्री आफैले सक्रियताका साथ बिहानैदेखि भूकम्प पीडित नागरिकको उद्दारमा देखाएको तदारुकताको खुलेर प्रशंसा गरेका हुन् ।
“धन्यवादको पात्र प्रधानमन्त्री नै हुनुहुन्छ । बिहानै भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री स्वयं जानुभयो । त्यहाँ गम्भीर घाईते धेरै नै थिए । जतिवटा हामीले हेलिकप्टरमा अटाउन सक्थ्यौँ । हामीले हाल्यौं र खास गरेर यो भिभिआइपी फ्लाइटमा अरु चढ्ने त्यस्तो हुँदैनथ्यो तर यस पालि प्रधानमन्त्रीले नै हाल्नु भनेपछि हामीले बिरामीहरूलाई हालेर रुकुम काभ्रे चौरजहारी एयरपोर्टमा लिएर आऔँ” शाहले भने ।
सांसद शाहले सङ्कटमा सबै सरकारी निकायबीचको समन्वय गरेर प्रधानमन्त्री अगाडि बढेको भन्दै सन्तुष्टि प्रकट गरे । यसअघि बारम्बार ताकेता गर्दा समेत समस्या समाधानमा चासो नदिने गरिएको स्मरण गर्दै उनले यस पटक मन्त्रालयगत रुपमासमेत राम्रो समन्वय भएको अनुभव साटे ।
“पहिले मन्त्रीले प्रतिक्रिया दिँदा विभागले प्रतिक्रिया नदिने र विभागले प्रतिक्रिया दिँदा मन्त्रालयले नदिने भएको थियो । अहिले तीन बजे नै प्रधानमन्त्रीज्यूले स्वास्थ्य मन्त्रालयलाई पनि फोन गरेर निर्देशन दिनुभयो । मन्त्रालयले पनि निर्देशन दिइसकेको थियो । सबै मन्त्रालयहरू तयार भएर बसेका थिए । यत्रो धेरै क्षति भएको ठाउँ पनि २ बजेसम्ममा नै धेरै जस्तो घाइतेलाई उद्धार गरेर सुर्खेत र नेपालगञ्जसम्म ल्याई सक्नु धेरै ठूलो कुरा हो” सांंसद शाहले भने ।