काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फिर्ता हुँदैछन् । स्वास्थ्यमा उल्लेख सुधार भएसँगै बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज हस्पिटलले श्रेष्ठलाई डिस्चार्ज गरेको थियो ।
प्रेस सल्लाहकार कमल गिरीका अनुसार श्रेष्ठ आज विहान ११ बजे नेपाल आइपुग्ने भएका छन् ।
तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीएफआर) मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै श्रेष्ठ बेइजिङ पुगेका थिए । कात्तिक १ गते श्रेष्ठलाई हृदयघात भएपछि अस्पताल भर्ना गरिएको थियो । श्रेष्ठको छातीमा ‘स्टेन्ट’ राखिएको छ ।
अहिले श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
उपप्रधानमन्त्री श्रेष्ठले अस्पतालबाट डिस्चार्ज हुँदा आफ्नो उपचारमा संलग्न चिकित्सक, अस्पताल परिवार र बेइजिङस्थित नेपाली दूतावासलाई धन्यवाद दिएका थिए । त्यस्तै, आफ्नो स्वास्थ्यवस्थाप्रति चासो, चिन्ता र शुभेच्छा राख्ने सबैप्रति उनले आभार व्यक्त गरेका छन् ।