
काठमाडौं । कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य डा. शेखर कोइरालाले कोशी प्रदेशमा सरकार गठनको कुराले सत्ता गठबन्धनमा कुनै असर नपर्ने दाबी गरेका छन् ।
गृहनगर विराटनगर आएका नेता कोइरालाले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो दाबी गरेका हुन् । कोशी प्रदेशसभाको जटिल अंक गणितले मध्यावधि निर्वाचन टार्नमात्रै एमालेसँग मिलेर सरकार गठन गरिएको उनको भनाइ छ ।
कोशीमा गठन भएको सरकारका कारण दलीय गठबन्धन, संघीय सरकार एवं अरु प्रदेशमा कुनै असर नपर्ने कोइरालाले बताए ।
कोशी प्रदेश मन्त्रिपरिषद् दसैँपछि हुने उनले उल्लेख गरे ।
सरकार बनाउन कसैको पनि बहुमत नपुग्ने अवस्थामा प्रदेशमा मध्यावधि निर्वाचनको जोखिम बढेको कुरालाई ध्यान दिंदै त्यसलाई टार्न एमालेसँग मिलेर सरकार बनाइएको कोइरालाले बताए ।
गठबन्धनले नेकपा माओवादीका इन्द्र आङ्बोलाई कोशी प्रदेश सरकारको नेतृत्व दिने सहमति गरेको थियो । उक्त सहमतिप्रति असन्तुष्टि जनाउँदै कांग्रेसको कोइराला पक्षका केदार कार्कीले एमालेको सहयोगमा मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए ।
कार्की मुख्यमन्त्री नियुक्त भएपछि दुईजना मन्त्री थपेर तीन सदस्यीय मन्त्रिपरिषद गठन गरिसकेका छन् ।
मुख्यमन्त्री कार्कीले प्रदेशसभाबाट विश्वासको मत पनि प्राप्त गरिसकेका छन् । उनलाई राप्रपाबाहेकका सबै दलले विश्वासको मत दिएका छन् ।