काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् । गठबन्धन तथा आफ्नै पार्टीको निर्णयविरुद्ध नेकपा एमालेको समर्थनमा मुख्यमन्त्रीको दाबी पेश गरेका कार्कीलाई शनिबार विहान प्रदेश प्रमुख परशुराम खापुङले शनिबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
अदालतको आदेशमा मुख्यमन्त्री नियुक्त भएका हिक्मत कार्कीले बहुमत नपाउने भएपछि असोज २० गते पदबाट राजिनामा गरेका थिए । कार्कीले राजिनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८(५) अन्तर्गत सरकार गठनको आह्वान गरेका थिए ।
सत्ता साँझेदार दलहरुले मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोलाई अगाडि सारेका थिए । तर गठबन्धन र आफ्नै पार्टी नेपाली काँग्रेसको निर्णयविरुद्ध कार्कीले ८ सांसदसहित एमालेको समर्थनमा मुख्यमन्त्रीको दाबी पेश गरेका थिए ।
एमालेका ४० र काँग्रेसका ८ सांसदको समर्थन जुटाएपछि आङ्बोलाई मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णयलाई धक्का लागेको थियो ।
सहमतिको लागि सभापति शेरबहादुर देउवाले दाबी फिर्ता लिएर गठबन्धनको निर्णय अनुसार अगाडि बढ्न निर्देशन दिएका थिए । नेता शेखर कोइराला र महामन्त्री गगन थापाको साथ पाएका कार्कीले दाबी फिर्ता लिएनन् ।
प्रदेश प्रमुखले दुबैतिर सांसदहरुले दुबैतिर हस्ताक्षर गरेकाले सनाखत गरेर मात्रै मुख्यमन्त्री नियुक्त गर्ने बताएका थिए ।
आज दिउँसो २ बजेसम्मको सनाखतको समय दिएका प्रदेश प्रमुखले केन्द्रमा भएको सहमति अनुसार शनिबार विहान कार्कीलाई मुखयमन्त्री नियुक्त गरेका छन् ।