काठमाडौँ। सुनको मूल्य तोलामा छ हजार चार सय रुपियाँले घटेको छ । अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय सुनको मूल्य घट्दै गएपछि त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत असोज २ गते प्रतितोला सुनको मूल्य एक लाख १३ हजार रुपियाँमा रहेकामा मङ्गलबार घटेर एक लाख छ हजार छ सय रुपियाँमा कारोबार भएको छ । असोज महिनादेखि स्थानीय बजारमा लगातार सुनको मूल्य घट्दै गएको छ । महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यका अनुसार अमेरिकी फिडरल बैङ्कले ब्याजदर बढाएपछि डलर मजबुत हुँदा सुनको मूल्य घट्दै गएको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दा स्थानीय बजारमा समेत मूल्य घट्दै गएको उहाँको भनाइ छ ।
व्यवसायीका अनुसार डलर मजबुत भएसँगै युरोपका ठुला देशले बैङ्कमा ब्लकमा राखेका सुन बेचेर डलरमा लगानी गर्न थालेको व्यवसायीको भनाइ छ ।