काठमाडौं । नेकपा (एमाले) बागमतीको जारी अधिवेशनअन्तर्गत मतदान आज हुँदै छ । विहानसम्म पनि सर्वसम्मत गराउने अध्यक्ष केपी ओलीको प्रयास पनि असफल भएपछि अन्ततः चुनाव नै हुने भएको हो ।
असोज ९ गते नै नेतृत्व चयनको तयारी गरेको एमालेले सर्वसम्मतिको प्रयास लम्बिँदा निर्वाचन धकेलिएको थियो ।
अध्यक्षमा उम्मेदवारी दिएका कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलकालाई मिलाउन पार्टी हेडक्वाटर नै लागेको थियो । तर सबै प्रयास असफल भएका छन् । दाहाल र ढुंगेलले ओलीको आग्रहलाई समेत नमानेपछि चुनावी प्रक्रियाबाटै अध्यक्षको चयन हुने भएको छ ।
अध्यक्षका लागि निवर्तमान अध्यक्ष केशव पाण्डे, बागमती प्रदेशका पूर्व सभामुख सानुकुमार श्रेष्ठ, केन्द्रीय सदस्य दाहाल र ढुंगेलले उम्मेदवारी दिएका थिए । त्यस्तै रामेछापका केशरबहादुर बुढाथोकीले पनि उम्मेदवारी दिएका थिए ।
तर सानु श्रेष्ठ, केशव पाण्डे र केशरबहादुर बुडाथोकीले बिहीबार उम्मेदवारी फिर्ता लिएका हुन् ।