
काठमाडौँ । नेकपा (एमाले) बागमती प्रदेशको नयाँ नेतृत्वको लागि चुनाव हुने भएको छ । सहमतिको लागि अन्तिम प्रयास गर्दा पनि सफलता हात नलागेपछि नेताहरु चुनावको तयारीमा जुटेका छन् ।
अध्यक्षको लागि पाँच नेताहरुबीच प्रतिस्पर्धा हुने भएको छ । अध्यक्षको लागि केन्द्रीय सदस्यहरू कैलाश ढुंगेल, कृष्ण दाहाल, केशवराज पाण्डे, कृष्णभक्त पोखरेल र सानुकुमार श्रेष्ठबीच प्रतिस्पर्धा हुने निश्चित जस्तै भएको नेताहरुले बताएका छन् । अन्य नेताहरुले आकांक्षा राखेपनि चुनाव हुने अवस्थामा पछि हटेका छन् ।
अधिवेशन सञ्चालनका लागि नेता गुरु बरालको अध्यक्षतामा ११ सदस्य अध्यक्ष मण्डल गठन भएको छ । जसमा शेरबहादुर तामाङ, देवी ज्ञवाली, आनन्दप्रसाद पोखरेल, गोकुलप्रसाद बाँस्कोटा, कमल चौँलागाईँ, रामेश्वर फुयाँल, कृष्णबहादुर राई, सुशीला नेपाल, पार्वत गुरुङ र रत्ना गुरुङ सदस्य रहेका छन् ।
अध्यक्ष केशवराज पाण्डेले बन्दसत्रमा पेस गरेको राजनीतिक, सांगठानिक, आर्थिक र आगामी कार्ययोजनासम्बन्धी प्रतिवेदनमाथि दिउँसो २ बजेबाट छलफल हुने बताइएको छ ।
नेता शेरबहादुर तामाङका अनुसार राजनीतिक प्रतिवेदनमाथि छलफल सकिएपछि आजै साँझबाट निर्वाचन प्रक्रिया सुरु हुनेछ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोमबार काठमाडौँको कमलादीमा अधिवेशनको उद्घाटन गरेका थिए ।