
धनगढी । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेशसभा सदस्य अक्कलबहादुर रावलले माओवादी पुनः जनतामा फर्केको बताएका छन् । उनले तीन महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियानमार्फत आफूहरु जनतमा फर्केका बताएका हुन् ।
“यो अभियानमार्फत हामीहरु जनतामा फर्केका छौं । सहिदहरुले देखाएको बाटो र प्राप्त उपलब्धीको रक्षा गर्दै समाजवाद पुग्ने बाटो फराकिलो बनाउने उद्देश्यसहित जनतामा फर्केका हौं” सांसद रावलले भने ।
अभियानको क्रममा कैलालीको लम्कीचुहाका कार्यकर्तासँग छलफल गर्दै रावलले माओवादीहरुले आफैबाट रुपान्तरण सुरु गरेको बताउँदै अब २१ औं शताब्दीको समाजवादी क्रान्तिको कार्यभार पनि माओवादीले नै पूरा गर्ने दाबी गरे ।
“हामीले आफैबाट रुपान्तरण अभियान सुरु गरेका छौं, नेता कार्यकर्ता सबै रुपान्तरित हुनुपर्छ । रुपान्तरण हामीबाटै सुरु गरेमात्रै २१ औं शताब्दीको समाजवादी क्रान्तिको कार्यभार पूरा गर्न सक्छौं” रावलले भने ।
अभियान टोलीले पहिलो चरणका कार्यक्रम अनुसार स्थानीय पार्टीको अवस्था, भेला तथा बैठक सदस्यता नविरकणलगायतका कार्य भइरहेको रावलले जानकारी दिए ।