
काठमाडौं । प्रधानमन्त्री प्रचण्डको अपीलपछि धरानको तनाव साम्य हुँदै गएको छ । प्रधानमन्त्रीले शनिबार साँझ एक अपील जारी गर्दै सद्भाव र एकतामा पार्नसक्ने नकारात्मक प्रभावबारे नेपाल सरकार गम्भीर रहेको बताएका छन् ।
प्रधानमन्त्रीले समस्याको समाधान वार्ताको माध्यमबाट हुने भन्दै संयमता अपनाउन आग्रह गरेका समेत गरेका छन् । “हरेक समस्या, बिमति र चुनौतीहरूलाई संवाद, सहमति र सहकार्यको बलमा नै समाधान दिन सकिन्छ भन्ने तथ्य हरेक चुनौतीपूर्ण परिस्थितिमा हामीले प्रदर्शित गर्दै आएको एकता र सहकार्यले प्रमाणित गरिसकेको छ । तसर्थ, धरानमा विद्यमान विभाजित मनोविज्ञान र क्रियाकलापलाई पनि संवादको माध्यमबाट समाधान गर्न सकिनेतर्फ गम्भीर ध्यानाकर्षण गराउँदै त्यस दिशामा आवश्यक पहलका निम्ति स्थानीय राजनीतिक दल, सामाजिक संघसंस्थाहरू, बौद्धिक समुदाय र आदरणीय जनसमुदायमा म हार्दिक अपील गर्दछु” प्रधानमन्त्रीद्वारा जारी अपीलमा भनिएको छ ।
एक अर्काको विचार र आस्थाको सम्मान गर्न आग्रह गर्दै सरकारले समाज र नागरिकलाई सुरक्षित राख्न आवश्यक सर्तकता अपनाएको प्रधानमन्त्रीले गरेका छन् ।
प्रधानमन्त्रीको अपीलमा भनिएको छ, “धार्मिक तथा समुदायगत एकता, सहकार्य र सामाजिक सद्भावका माध्यमबाट नै राष्ट्र निर्माणको ऐतिहासिक कार्यभार पूरा गर्न सकिन्छ । एकले अर्काको विचार, आस्था र भावनाको सम्मान गरेर मात्र साँचो अर्थमा राष्ट्रिय एकता हासिल गर्न सकिन्छ । त्यसका लागि संवाद र सहकार्यका माध्यमबाट समस्याको समाधान गर्न र सम्भावित समस्याहरूबाट समाज र नागरिकलाई सुरक्षित राख्न नेपाल सरकारले आवश्यक सतर्कता अपनाइरहेको व्यहोरासमेत म स्पष्ट गर्दछु ।”
प्रधानमन्त्रीले विभिन्न वर्ण, लिङ्ग, जातजाति र धर्मको पहिचान भएपनि समग्रमा नेपाली भएको बताउँदै राष्ट्रिय हित र स्वार्थ नै हामी सबैका लागि सर्वोपरि रहनु पर्नेमा जोड दिएका छन् ।
त्यस्तै उनले सबै धर्मको लक्ष्य सर्वोपरि हित नै भएको भन्दै सामाजिक एकतामा खलल पुग्ने क्रियाकलापबाट टाढै बस्न सबैलाई अपील गरेका छन् ।
“सबै धर्मको ध्येय राष्ट्रको हित, नागरिकको आस्था र विचारको सम्मान एवं समाजको सर्वोपरि हित नै हो । बिमतिहरूलाई संवादको माध्यमबाट समाधानमा पु¥याउन समेत राजनीतिक शक्तिहरू, विभिन्न सामाजिक संस्थाहरू, धार्मिक समुदाय र त्यसका अगुवाहरू एवं नागरिक समाजको भूमिका नै महत्वपूर्ण रहन्छ । कठिनाइ र चुनौतीको समयमा समस्या समाधानको सुत्रधार बनेर नै हामीले आफ्नो नेतृत्व क्षमता र औचित्यलाई पुष्टि गर्न सक्छौँ” प्रधानमन्त्रीको अपीलमा भनिएको छ ।