
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले सहिद रामवृक्ष यादवप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । शनिबार विहान नेकपा माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले यादवको फोटोमा माल्यार्पणसहित श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
मधेसका प्रभावशाली नेता यादवको तत्कालिन शाही सेना र प्रहरीले २०५१ साल भदौ २ गतेका दिन गोली हानी हत्या गरेका थिए । जनयुद्ध घोषणाको पूर्वसन्ध्यामा नेकपा (माओवादी)ले २०५१ भदौ १ गतेको नेपाल बन्द कार्यक्रम आयोजना गरेको थियो । यादव उक्त कार्यक्रममा सहभागी भएर घर फर्कने क्रममा गिरफ्तार गरेर हत्या गरिएको थियो ।
धनुषाको गाविस बरमझिया–६ का मध्यम किसान परिवारका पिता रामलखन यादव र आमा सम्पत्तिदेवी यादवको कोखबाट वि।सं। २००३ सालमा प्रथम पुत्रको रूपमा यादवको जन्म भएको थियो ।
२०२२ सालमा मेट्रिक पास गरी आफ्नै गाउँ बरमझियाको प्राथमिक विद्यालयमा शिक्षण पेसामा लागेका उनले प्रमाणपत्र तहसम्म उत्तीर्ण हुने अवसर पाएका थिए । विद्यार्थी जीवनदेखि नै समाज सेवाप्रति चाख राख्ने उनी शिक्षण जीवनमा आफ्नो जिम्मेवारीप्रति बफादार रही समाजका गरिब गुरुवाहरूप्रति गहिरो सहानुभूति राख्दै उनीहरूलाई उनका हक अधिकारबारे वैचारिक ज्ञान प्रदान गर्थे ।
जनताका विविध समस्याहरूको विरोधमा स्थानीय सङ्घर्ष चलाइरहेका उनले धेरै पटक जेल जीवन बाध्य भएका थिए । २०४५ सालको किसान आन्दोलनमा उनले सक्रिय भूमिका खेलेकाले २०४६ जेठमा गिरफ्तार भई लगातार तीन वर्ष जेल जीवन बिताए ।