
काठमाडौँ । मुग्लिन–नारायणगढ सडक खण्ड फेरि अबरुद्ध भएको छ । दिनभर पहिरो पन्छाएर हिजो बेलुकी खुलाएको सडक रातिदेखि फेरि बन्द भएको छ । मध्यराति तुइनखोला नजिकै पहिलेकै ठाउँमा फेरि पहिरो खसेको थियो ।
पहिरोमा परी एउटा ट्रक सडक छेउमा फसेको छ भने ट्रक चालक घाइते भएका छन् । मुग्लिनमा उपचार भइरहेका ट्रक चालकको अवस्था सामान्य रहेको छ ।
सडक छेउमा फसेको ट्रक हटाएपछि मात्रै गाडी सञ्चालन हुन सक्ने ट्राफिक प्रहरीले जनाएको छ ।
पहिरो पन्छाउने डोजर तैनाथ अवस्थामा रहे पनि ट्रक हटाउने क्रेन पुग्न ढिला भएकोले यो समाचार तयार पार्दासम्म सडक अवरुद्ध नै छ । शनिवार रातिदेखि बन्द भएको सडक बेलुकीपख मात्रै खुलेको थियो ।
राजधानी काठमाडौँ उपत्यकाको लाइफलाइनको रुपमा रहेको यो सडक खण्ड अवरुद्ध हुँदा हजारौं यात्रुहरु प्रभावित भएका छन् ।