
धनगढी । प्रधानमन्त्री प्रचण्डले खप्तड क्षेत्र आर्थिक र पर्यटन विकासको केन्द्र बन्ने भएको बताउनुभएको छ । मंगलबारदेखि सुरु भएको तीन दिने प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्रीले खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक केन्द्र बनाउन आफूले पहल गर्ने समेत बताउनुभयो । “खप्तड आर्थिक विकासको केन्द्र र पर्यटन विकासको केन्द्र बन्छ । खप्तड क्षेत्रलाई पर्यटन मैत्री आध्यात्मिक केन्द्रको रूपमा विकास गर्छौ । यो क्षेत्रलाई अन्तर्राष्ट्रिय आध्यात्मिक केन्द्र बनाउन पहल गर्छौं” प्रधानमन्त्रीले भन्नुभयो ।
खप्तड विकास कोष वा प्रतिष्ठान बनाउने विषयमा पनि छलफल गर्ने बताउँदै प्रचण्डले सुदूरपश्चिम प्रदेशको विकासको लागि आफू प्रतिबद्ध रहेको समेत बताउनुभयो ।
तीन दिनसम्म चल्न सम्मेलनमा नेकपा एसका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रदेश प्रमुख देवराज जोशी, योग गुरु रामदेव र आयुर्वेद विज्ञ बालकृष्ण आचार्य पनि कार्यक्रममा सहभागी हुनुभएको छ । सम्मेलन यही २५ गतेसम्म चल्नेछ ।