
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणबारे केही दिनमा अदातलमा पेश गर्ने तयारी प्रहरीले गरेको छ । नेपाललाई नक्कली भुटानी शरणार्थी बनाउने कार्यमा सक्कली भुटानी शरणार्थी नेता टेकनाथ रिजालले समेत सहयोग गरेको भन्दै प्रहरीले अनुसन्धान थालेको छ ।
प्रहरीले रिजाललाई तीन दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । पक्राउ पुर्जी जारी भएको ११ दिनपछि पक्राउ परेका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी मुख्य योजनाकार भएको अनुसन्धानले संकेत गरेको प्रहरी स्रोत बताउँछ । रायमाझीले यो कुरा एमाले उपाध्यक्ष रामबहादुर थापाका सुरक्षा सुल्लाहकार इन्द्रजित राईलाई बताएका थिए ।
सुरुमा रायमाझीले विचौलियाका कुरा राईसमक्ष पुर्याएको र त्यसपछि दुबै जना योजनाबद्ध रुपमा यो प्रकरणमा लागेको अनुसन्धानले संकेत गरेको छ । सक्कली भुटानी शरणार्थी रिजालले समस्या उठाउने र रायमाझीले नीतिगत गहमा पहुँच पुर्याउने गरेको पाइएको बताइएको छ ।
तत्कालिन एमाले अध्यक्ष केपी ओलीको नेतृत्वको सरकारले ३० जेठ २०७६ मा पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपायहरु पहिल्याउन भन्दै कार्यदल गठन गरेको थियो । यो पनि रायमाझी, राई र रिजालकै पहलमा कार्यदल गठन गरिएको पाइएको छ ।
यो कार्यदल गठन हुनअघि देखि नै शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै पैसा असुल गर्न थालेकोले नीतिगत रुपमै बदमासी भएको अनुसन्धान अधिकृतको भनाई उदृत गर्दै प्रहरी स्रोत बताउँछ ।
सरकारले झापा र मोरङमा बाँकी रहेका ६ हजार ५७७ जना शरणार्थीको हकमा स्थायी र दिर्घकालिन रुपमा समाधानको लागि कार्यदल बनाएको बताए पनि कार्यदका सदस्यमा गिरोहले नै रोजेका व्यक्ति राखिएको समेत खुलेको छ ।
रिजालले शरणार्थीका समस्यालाई उठाउने र यता रायमाझी -राईले नीतिगत तहमै नेपाललाई नक्कली शरणार्थी बनाउन लागिपरेको देखिएको छ । सानु भण्डारीले दिएको बयनको क्रममा रायमाझी र राईले प्रधानमन्त्री पनि हाम्रै र गृहमन्त्री पनि हाम्रै भएकोले नक्कली शरणार्थी बनाउन कुनै गाराे नहुने बताउँदै आएको बताएको बताइन्छ ।
त्यसैगरी भण्डारीले पुल्चोकस्थित मन्त्री क्वार्टरमै पुगेर तत्कालीन गृहमन्त्री बादलका छोरा प्रतीक थापा, बादल पत्नी नैनकला लगायतलाई पनि रकम दिएको बयनको क्रममा बताएका छन् । उनले ‘सानुजी र हामी मिलेर ५० जनाबाट उठाएर ५ करोड रुपैयाँ इन्द्रजित दिएका थियौं’ भण्डारीको वयनलाई उदृत गर्दै स्रोतले बतायो ।
यदि भण्डारीले दिएको वयान फेक होइन भने यो प्रकरण गृहमन्त्री बादल र प्रधानमन्त्री ओलीलाई जानकारी नभएको हुन नसक्ने अनुसन्धान अधिकारी बताउँछन् । तर, अहिलेसम्मको अनुसन्धानमा ओली र बादल संलग्न भएको नभेटिएको प्रहरी स्रोत बताउँछ ।