
काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्नर भएको छ । उडान तालिकाअनुसार काठमाडौं – क्वालालम्पूर – भैरहवा – काठमाडौं सेक्टरमा उडान गर्ने गरी टिकट बुकिङ्ग खुला गरेको छ । त्यस अवसरमा निगमले मलेसियाबाट प्रवर्द्धनात्मक भाडादर १२ हजार सात सय रुपैयाँ कायम गरेको छ ।
निगमका प्रवक्ता रमेश पौडेलका अनुसार नेपाल एअरलाइन्सले भैरहवा–मलेसिया र मलेसिया–भैरहवा–काठमाण्डौ रुटमा यही जेठ २९ देखि उडान सुरु गर्दैछ, त्यस अवसरमा मलेसिया–भैरहवा–काठमाण्डौका लागि अत्यन्तै सस्तो शुल्कमा टिकट उपलब्ध गराउन लागिएको हो ।
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने कार्य तदारुकताका साथ गर्नका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको विशेष निर्देशन र निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारीको विशेष पहल रहेको निगमले जानकारी दिएको छ ।
मलेसिया–भैरहवाका लागि १२ हजार सात सय र मलेसिया–भैरहवा–काठमाण्डौका लागि १४ हजार सात सय २० रुपैयाँ भाडादर कायम गरिएको छ ।
निगमको उडान तालिकाअनुसार टिकट बुकिङ खुला भइसकेको छ । भैरहवाबाट अहिले निगमले हप्ताको एक उडानबाट सुरु गर्ने र बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार अन्य गन्तव्यमा समेत उडान गर्नेछ ।
यसै गरि निगमले मलेसियाको जोहोरबारुबाट क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलसम्म आवतजावत गर्न चाँडै नै शटल बसको व्यवस्था गर्दै छ। यस पश्चात यात्रुले निगमको जहाजबाट काठमाडौदेखि जोहोरबारुसम्म र जोहोरबारुबाट काठमाडौ वा भैरहवासम्मको टिकट लिई यात्रा गर्न सक्नेछन् । यसबाट यात्रुहरुलाई थप सुविधा पुग्ने निगमले विश्वास लिएको छ ।