काठमाडौँ । आन्दोलनरत मिटरब्याज पीडितहरुसँग प्रधानमन्त्री प्रचण्डले राउण्ड टेबुल छलफल गरेका छन् । शनिबार विहान बालुवाटारमा बोलाएर प्रधानमन्त्री प्रचण्डले पीडितका कुरा सुनेका छन् ।
प्रधानमन्त्रीले पीडितका कुरा सुनेपछि पीडकलाई कानुनी कठघरामा ल्याएरै छोड्ने प्रतिवद्धता जाहेर गरेका छन् । साहुहरुको राज्यका उपल्लो अंग र कर्मचारीसँग सेटिङ हुने गरेको पाएको भन्दै प्रधानमन्त्रीले ऐनमार्फत कानुनी कठघरामा ल्याइर पीडितलाई न्याय दिने बताए ।
मिटरब्याज पीडितलाई न्याय दिन र पीडकलाई कारबाही गर्न ऐन नै बाधक बनेको भन्दै प्रचण्डले त्यो ऐन सच्याउने कार्य सुरु भइसकेको जानकारी समेत दिए । ‘तपाईँहरूलाई न्याय दिन हामीले ऐन संशोधनको प्रक्रिया सुरु गरिसकेका छौँ । त्यो ऐनलाई प्रभावकारी बनाउन के गर्न सकिन्छ भन्नेबारे तपाईँहरूको सुझावको अपेक्षा गरेको छु, प्रधानमन्त्रीले भने ।
प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितलाई न्याय दिनकै लागि गृह मन्त्रालयको जिम्मेवारी नारायणकाजी श्रेष्ठलाई दिएको बताए । गृहमन्त्री श्रेष्ठ पनि गम्भीर भएर समस्या समाधानमा लागिसकेको बताए ।
पीडितहहरुसँग बोल्दै प्रधानमन्त्रीले मन्त्रिपरिषद्ले एउटा उच्चस्तरीय आयोग गठन गर्ने निर्णय गरेको बताउँदै त्यसलाई सिँधै फिल्डमा गएर कारबाही गर्न सक्ने अधिकार सम्पन्न बनाइएको बताए ।