
काठमाडौं । गठबन्धनको बैठक आज पनि बस्दै छ । मंगलबार साँझ बसेको बैठकले सरकारको न्युनतम साझा कार्यक्रमबारे प्रारम्भिक छलफल गरेको थियो । थप आन्तरिक छलफल गर्नुपर्ने भन्दै बैठक आजको लागि सारिएको हो ।
प्रधानमन्त्री प्रचण्डले बैठकमा १९ बुँदा समेटिएको सरकारको न्यूनतम कार्यक्रमबारेको मस्यौदा पेस गरेका थिए ।
‘संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम’ नाम दिइएको मस्यौदामा दुई शीर्षक र धेरै उपशीर्षकहरू रहेका छन् । गठबन्धनमा सहभागी दलका नेताहरुलाई अध्ययनका लागि भन्दै मस्यौदा वितरण गरिएको थियो । नेताहरुका थप सुझावसहित आज पास गर्ने तयारी भइरहेको छ ।
आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले साझा कार्यक्रममा सहमति जुटेलगत्तै दलहरुले पाउने मन्त्रालय बाँडफाँटबारे खाका पेस गर्ने बताइएको छ ।
दलहरुबीच सहमति भए आजै नभए भोलिसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी प्रधानमन्त्रीले गरेका छन् ।