
काठमाडौं । आज हुन लागेको उपराष्ट्रपति निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भाग नलिने निर्णय गरेको छ । कसलाई मतदान गर्ने विषयमा नेताहरुबीच एकमत हुन नसक्दा मतदान नगर्ने निर्णय लिन परेको एक नेताले बताए ।
राष्ट्रपति चुनावमा पनि नेताहरुबीच फरक मत हुँदा मतदानमा भाग नलिएको राप्रपाले उपराष्ट्रपतिमा पनि सोही नीति लिएको हो ।
चुनावी मोर्चा नेकपा एमालेसँग भएको र राष्ट्रपति-उपाराष्ट्रपति दुबैमा उसको हार देखेपछि राप्रपाले मतदानमा सहभागी नभएको हो । राष्ट्रपति र उपराष्ट्रपतिमा आफ्नै छुटै उम्मेदवार उठाउने हैसियत पनि नभएको र गठबन्धनमा कसैले पनि महत्व नदिएका कारण पनि राप्रपा अलग बसेको बताइएको छ ।
गत बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राष्ट्रपति निर्वाचनमा जस्तै उपराष्ट्रपति निर्वाचनमा पनि भाग नलिने निर्णय गरेको थियो । राप्रपाका १४ संघीय सांसद र २८ प्रदेशसभा सदस्य छन् ।
उपराष्ट्रपतिको लागि अहिले विहान १० बजेदेखि ३ बजेसम्म संघीय संसद भवन वानेश्वरमा मतदान हुने भएको छ ।
चुनावी मैदानमा सत्ता गठबन्धनबाट जसपाका रामसहायप्रसाद यादव, नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य (बोहरा), गठबन्धनको अर्को घटक जनमत पार्टीकी ममता झा छन् ।
मतपत्रमा नाम उल्लेख भएपनि जसपाकी प्रमिलाले आफ्नो उम्मेदवारी निष्कृय बनाइसकेकी छन् ।