कैलाली । राना थारु समुदायले मनाउने खखडेहरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज कैलाली र कञ्चनपुरमा सार्वजनिक विदा दिएको छ ।
यसअघि चैत १ गते सार्वजनिक बिदा दिने निर्णय गरे पनि त्यसलाई संशोधन गरी फागुन ३० गते नै सार्वजनिक विदा दिने निर्णय मन्त्रिपरिषद बैठकले गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।
कञ्चनपुर र कैलालीमा बसोबास गर्ने राना थारु समुदायले होरी (होली)को अन्तिम दिन खखडेहरा पर्व मनाउँछन् ।
राना थारु समुदायमा होरी सबैभन्दा महत्वपूर्ण पर्व हो । यस पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले २०७६ सालदेखि सार्वजनिक विदा दिन थालेको हो ।
त्यसअघि २०७४ सालमा पुनर्वास नगरपालिकाको ढक्कामा पहिलोपटक खखडेहरा महोत्सव आयोजना गरिएको थियो ।
यसैबीच हाल देशको पहाडी तथा हिमाली भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही तराई भेगमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भू-भागहरूमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ।
देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै तराईका एक-दुई स्थानमा समेत मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राती कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
भोलि बुधबार कोशी प्रदेश लगायत बाग्मती प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा अपराह्णतिर मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
बिहिबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।