
काठमाडौँ । दैलेख जिल्लाको रानीवान केन्द्रविन्दु भएर भुइँचालोको शक्तिशाली धक्का महसुस भएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सोमबार साँझ ६ बजेर ५६ मिनेट जाँदा दैलेख जिल्लाको रानीवान केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भुइँचालो गएको हो।
यसअघि यही फागुन २१ गते अछाम र काभ्रेपलाञ्चोक केन्द्रविन्दु भएर दुई वटा भूकम्प गएको थियो। यता गोरखामा भएको मिनी ट्रक दुर्घटनाका घाइतेमध्ये थप एक जनाको ज्यान गएको छ ।
दोलखा घर भई हाल राष्ट्रिय वाणिज्य बैक गजुरी शाखामा कार्यरत बिष्णु खड्काको उपचारका लागि भरतपुर लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी सवार बा ८६ प १७८५ नम्वरको मोटरसाइकललाई विपरीत दिशाबाट अनियन्त्रित रुपमा आएको मिनी ट्रकले ठक्कर दिएको थियो ।
दुर्घटनामा परी ट्रक चालक (सवारी धनि समेत रहेका) आरुघाटका उमेश श्रेष्ठको मृत्यु भएको थियो । दुर्घटनाका अन्य घाइतेहरु उपचाररत रहेको डीएसपी लिलाराज लामिछानेले बताए ।
उनका अनुसार दुर्घटनामा परी शहीद लखन गाउँपालिका वडा नम्वर ७ घर भई हाल गोरखा नगरपालिका–९ बस्ने रमला राना मगर, शहीद लखन गाउँपालिककै लाल बहादुर गुरुङ, नारायण भुजेल, बुद्धिबहादुर नेपाली, गोरखा नगरपालिका–१० की सावित्री बिक र बर्दियाका मंगल चौधरी घाइते भएका हुन् ।
उनीहरुमध्ये भुजेलको गोरखा अस्पताल र अन्यको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।
सोमबार दिउँसो करिव एक बजे गोरखा बसपार्कबाट आँबुखैरेनी जादै गरेको प्रदेश ३–०१–००३ क ६१७० नम्वरको मिनी ट्रक अनियन्त्रित भइ बिसौनीमोडको सडकदेखि करिव २० मिटर तल खसेको थियो ।
अनियन्त्रित रुपमा आएको उक्त ट्रकले विपरीत दिशाबाट आएको मोटरसाइकल र केही पैदल यात्रीलाई समेत लातार्दै लगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।