
काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराको नेतृत्वमा तयार भएको ड्राफ्ट प्रधानमन्त्री प्रचण्डले फेरेपछि तीन माओवादी धार अलग भएका छन् ।
माओवादी नौ धारको बैठकले संयुक्त अपिल तयार गर्न महरालाई जिम्मेवारी दिएको थियो । तर, प्रधानमन्त्री प्रचण्डले संशोधन गरेर तयार गर्न लगाएपछि तीन माओवादी धारले बहिष्कार गरेका हुन् ।
जसमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत र गोपाल किराँती नेतृत्वको माओवादी कम्युनिस्ट पार्टी छन् ।
‘संयुक्त अपिल तयार गर्न महराजीलाई तयार गर्न जिम्मेवारी दिएको थियो । त्यसमा नौ माओवादी धारका नेताहरूले सहमति जनाएका थियौ’ वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सीपी गजुरेलले भने, ‘महराजीले तयार गरेको अपिल पुनः प्रचण्ड जीले अध्ययन गर्नुभयो । उहाँले यो हुँदैन यसरी बनाउनुस् भनेर अर्को अपिल तयार गर्नुभयो ।’
प्रचण्डले तयार गरेको अपिलमा सरकारलाई जस दिन खोजेपछि आफूहरूले संयुक्त पत्रकार सम्मेलन बहिष्कार गरेको स्थायी समिति सदस्य गजुरेलले बताए ।
सरकारको प्रशंसा गर्न खोजिएपछि संयुक्त पत्रकार सम्मेलनमा अर्थ नदेखेपछि सहभागी नभएको बताए । तर माओवादी केन्द्रका प्रवक्ता महराले भने संयुक्त पत्रकार सम्मेलनमा आउने भनिए पनि अन्तिममा सहभागी नभएको बताए ।
‘मैले ड्राफ्ट गरेको अपिल चित्त नबुझेर नआएको भन्ने मेरो भाषा होइन,उहाँहरूको भाषा होला मलाई थाहा छैन’ महराले भने ।
यता नेकपा बहुमतका अध्यक्ष धर्मेन्द्र बास्तालाले असहमति भएकाले पत्रकार सम्मेलनमा सहभागी नभएको प्रतिक्रिया दिए ।
‘संयुक्त अपिल हामीले भने जस्तो बनाउन खोज्यौं । बनाउन सम्भव पनि भएन’ बास्तोलाले भने, ‘संयुक्त अपिल नै झन कन्फ्यूजन हुने खालको हुने भएपछि पत्रकार सम्मेलन बहिष्कार गरेका हौं ।’
अब माओवादी धारको बैठकमा तीन दल सहभागी नहुने भएका छन् । आफ्नै तरिकाले तीन दलले कार्यक्रम र योजना बनाएर अघि बढ्ने भएका छन् ।