
काठमाडौँ । आगामी चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित भएको छ । निर्वाचन अधिकृतको कार्यालयले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ को दफा २३ अनुसार आइतबार नामावली प्रकाशन गरेको हो ।
अन्तिम नामावलीमा शनिबार आयोगमा उम्मेदवारी दिएका चारै जना उम्मेदवारहरू समावेश छन् । जसमा नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा तथा जसपा नेपालबाट प्रमिला कुमारी र रामसहाय प्रसाद यादव रहेका छन् ।
१० दलीय गठबन्धनको तर्फबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवको उपराष्ट्रपति पदको उम्मेदवारी कायम रहेको छ । आइतवार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयले यसबारेमा जानकारी गराएको हो ।
सञ्चारकर्मीहरुसँग कुरा गर्दै निर्वाचन अधिकृत महेश शर्मा पौडेलले राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग र समुदायका दुवै हुनुपर्ने अनिवार्य वा बाध्यात्मक व्यवस्था नरहेकाले उनको उम्मेदवारी पनि कायम रहने बताए । उम्मेदवार यादवको उम्मेदवारीमा नेकपा एमाले र जनमत पार्टीबाट दाबी विरोध परेको थियो ।
उनले भने, ‘राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग र समुदायका दुवै हुनुपर्ने अनिवार्य वा बाध्यात्मक व्यवस्था नगरी लिंग र समुदाय फरक हुनुपर्ने गरी संविधान र कानूनी व्यवस्था भइरहेको देखिँदा खस आर्य समुदाय भन्दा फरक समुदायका पुरुष उम्मेदवार रामसहायप्रसाद यादव उपराष्ट्रपतिको उम्मेदवार हुन अयोग्य भन्न सकिँदैन । उम्मेदवार अष्टलक्ष्मी शाक्य र ममता झाको दाबी बिरोधले उजुरी दावी हुन सक्दैन । त्यसैले उजुरी दाबी बमोजिम रामसहायप्रसाद यादव उपराष्ट्रपति उम्मेदवारको मनोनयन पत्र खारेज गर्नुपर्ने देखिएन ।’
यसअघि उपराष्ट्रपति निर्वाचनमा उम्मेदवारी दर्ताका सन्दर्भमा निर्वाचन आयोगबाट आएको छुट्टाछुट्टै धारणाले सत्ता गठबन्धनमा अलमल देखिएको थियो । जसका कारण जसपाले यादवसहित प्रमिला कुमारीकको पनि उम्मेदवारी दर्ता गराएको थियो । निर्वाचन आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमा उम्मेदवारको योग्यताबारे थप स्पष्टतासहित नवनिर्वाचित राष्ट्रपतिको लिङ्ग वा समुदायभन्दा फरक हुने गरी उपराष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय भएको उल्लेख थियो ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा ६५ को उपदफा २ बमोजिम दिइएको निर्देशनमा नेपालको संविधानको धारा ७० मा “यस संविधान बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नु पर्नेछ” भन्ने व्यवस्था रहेको स्मरण गराइएको थियो ।
यस्तै राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा १६ को उपदफा (५) मा “यस दफा बमोजिम उपराष्ट्रपति पदको लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिङ्ग वा समुदायको हो सो भन्दा फरक लिङ्ग वा समुदायको व्यक्तिलाई मनोनयन गर्नु पर्नेछ” भन्ने व्यवस्था रहेको उल्लेख छ ।
जसअनुसार बिहीबार भएको राष्ट्रपतिको निर्वाचनमा खस आर्य समावेशी समूहका पुरुष व्यक्ति रामचन्द्र पौडेल निर्वाचित भएकाले उपराष्ट्रपति पदको मनोनयनपत्र दर्ता गर्दा राष्ट्रपतिको पदमा निर्वाचित व्यक्तिको लिङ्ग (पुरुष) वा समुदाय (खस आर्य) भन्दा फरक लिङ्ग (महिला वा अन्य) वा फरक समुदाय (दलित, आदिवासी जनजाति, मधेसी, थारु वा मुस्लिम) को व्यक्तिको मनोनयनपत्र मात्र दर्ता गर्ने आयोगको निर्देशनसहितको निर्णयमा उल्लेख थियो ।
विज्ञप्ति संविधानअनुसार भएपनि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपराष्ट्रपतिको निर्वाचनका लागि हुने उम्मेदवारको मनोनयनपत्र दर्ताका क्रममा पुरुष उम्मेदवारको उम्मेदवारी दर्ता नगर्न निर्वाचन अधिकृतलाई निर्देशन दिइएको सञ्चारमाध्यमलाई बताएका थिए । जसका कारण अन्योलता हुनुका साथै बहसको विषय बनेको थियो ।