आज :

मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा खुल्ला रक्तदान र निःशुल्क दन्त शिविर सम्पन्न, ११३ जना सदस्यहरू लाभान्वित

  • अनलाइन डबली

काठमाडौँ ।   मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा निगुपुखू क्षेत्रमा खुल्ला रक्तदान र निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखा र डेन्टल आर्ट मल्टिस्पेसियालिटी क्लिनिकको समन्वयमा सम्पन्न भएको स्वास्थ्य शिविरमा ११३ जना सदस्यहरू लाभान्वित भएका छन् ।
स्वास्थ्य शिविर पश्चात् भएको छलफल कार्यक्रममा संयोजक डा. उज्ज्वल जोशीले शिविरमा डेन्टल टेस्ट, एक्सट्रयाकसन, फ्लोराइडिङ लगायतको दाँत सम्बन्धिको विशेषज्ञ सेवा प्रदान गरिएको जनाए । ‘अहिलेको परिपेक्ष्यमा अधिकांस महानुभावको आम्दानी भन्दा खर्च बढी छ । खर्च बढ्नुको मुख्य कारण स्वास्थ्य उपचार महंगो भएर पनि हो । त्यसैले स्वास्थ्यप्रतिको जनचेतना अभिवृद्धि गर्दै हामीले एकदिने स्वास्थ्य शिविर सञ्चालन गरेका छौं ।’ कार्यक्रम संयोजक डा. उज्ज्वल जोशीले जनाए । हुनपनि व्यक्ति स्वस्थ हुँदा कार्यक्षमताको वृद्धि भएर स्वास्थ्य उपचारको खर्च समेत कम हुने वास्तविकता हो ।
एक फरक प्रसंगमा संस्थाका अध्यक्ष कृष्णकाजी मानन्धरले वित्तीय संस्थाप्रतिको पछिल्लो भ्रम न्यूनीकरण गर्नुपर्नेमा जोड दिए । सबै वित्तीय संस्थालाई एउटै डालोमा राखेर मुल्यांकन नगर्न उहाँले अपित समेत गरे । निश्चित बहुउद्देश्यीय तथा लघुवित्त संस्था सञ्चालन गर्ने गलत नियत भएका सञ्चालक तथा व्यवस्थापकहरुको कारणले अहिले विसम परिस्थितिको सिर्जना हुनपुगेको उहाँले दाबी गरे । त्यसमाथि नियामक निकायबाट वित्तीय संस्थालाई हुनुपर्ने नियमित र व्यवस्थित ढंगको अनुगमन र निरीक्षण अभावले अहिलेको अवस्था आएको अध्यक्ष मानन्धरको ठहर छ । ‘देशको तीन खम्बे अर्थ नीति बमोजिम सरकार, निजी क्षेत्रपछि सहकारीको नाउँ आउँछ । त्यसैले सहकारीले सदस्यहरुबाट ससाना पुँजी संकलन गरी सदस्यहरुको आर्थिक र सामाजिक क्षेत्रको उत्थानको लागि उनीहरुलाई सुरक्षित तबरले लगानी गर्नुपर्दछ । तर विडम्वना केही निश्चित सहकारीले ती सिद्धान्त बेगर काम गरेका छन् । सामाजिक सेवा भावले सञ्चालन भएका सहकारीलाई समेत त्यस्ता समस्याग्रस्त सहकारीको नकारात्मक प्रभाव परेको राम्रो विषय होइन ।’ अध्यक्ष मानन्धरको भनाइ थियो । अहिले स्थानिय बासिन्दा तथा समाजसेवीहरुले नेतृत्व गरेको सहकारी संस्था कमै मात्र समस्यामा छन् । धेरैजसो बढी व्याजको लोभ देखाएर पैसा मात्र संकलन गर्ने नियतले आएका सहकारीहरु समस्याग्रस्त अवस्थामा छ । त्यसैले हल्लाको भरमा दौडिएर भन्दा पनि सहकारी संस्थाको छवि, सञ्चालक तथा व्यवस्थापकहरुको कार्यशैलीलाई मूल्यांकन गरेर सदस्यहरुले सहकारीमाथि व्यवहार गर्नुपर्ने देखिन्छ ।
त्यस्तै, रेडक्रस उपशाखाका सभापति बाबुकाजी श्रेष्ठले रगतमा देखिएको अभाव परिपूर्ति गर्न रक्तदान कार्यक्रमको आयोजना गरिएको दाबी गरे । पछिल्लो समय रगतको माग बढी रहेको श्रेष्ठको भनाइ थियो ।
मध्यपुर थिमि सहकारी संस्थाले समाजप्रतिको उत्तरदायित्व कार्यक्रम अन्तर्गत वार्षिक रूपमा विभिन्न खाले गतिविधि गर्दै आएको छ । कार्यक्रमलाई संस्थाको शिक्षा उपसमिति र महिला उपसमितिले संयोजन गरेको हो । कार्यक्रममा सबभन्दा बढी बालबालिका र जेष्ठ नागरिकहरूको सहभागिता रहेको आयोजकले दाबी गरेको छ ।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal