
काठमाडौँ । कलाकार पल शाहलाई अदालतले सफाइ दिएको छ । बालिकामाथि जबरजस्ती करणी गरेको मुद्दामा जिल्ला अदालत नवलपुरको फैसलालाई उच्च अदालत पोखराले उल्टाउँदै सफाइ दिएको हो ।
जिल्ला अदालतको फैसलाविरुद्ध शाहले दायर गरेको रिटको सुनुवाइ गर्दै न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले अभियोग दाबी नपुग्ने ठहर गरेको छ । यसअघि माघ ३ गते तनहुँ जिल्ला अदालतले पनि शाहलाई सफाइ दिएको थियो । न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले शाहमाथिको अभियोग दाबी नपुग्ने ठहर गर्दै शाहलाई सफाइ दिएका थिए ।
तनहुँ जिल्ला अदालतले बलात्कारको कसुरमा शाहलाई सफाइ दिए पनि उनी थुनामुक्त हुन पाएका थिएनन् । अब भोलि शाह थुनामुक्त हुने बताइएको छ । नवलपुर जिल्ला अदालतले शाहलाई बलात्कारको मुद्दामा सफाइ दिए पनि बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे २ वर्षको कैद सजाय र दश लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो ।
एक नाबालिगमाथि बलात्कार गरेको भन्दै जाहेरी परेपछि शाह गत वर्षको फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी परेको थियो । जाहेरी परेको ४ दिनपछि २०७८ फागुन १५ गते शाहले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।
प्रहरीसमक्ष आत्मसमर्पण गरेपछि अनुसन्धान गरेर तनहुँ प्रहरीले २०७८ चैत ८ गते तनहुँ जिल्ला अदालतमा जबरजस्ती करणीको कसुरमा मुद्दा दर्ता गराएको थियो । मुद्दा दर्ता भएको दुई दिनपछि २०७८ चैत १० गतेको आदेशबाट पुर्पक्षका लागि थुनामा पठाइएको थियो ।