काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विज्ञान र प्रविधिको क्षेत्रलाई अगाडि नबढाईकन नेपालको विकास हुन नसक्ने प्रतिवद्धता जनाएका छन् ।
मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा केन्द्रका प्रमुख महावीर पुनसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिको विकासमा जोड नदिई नेपालको विकास कुनैपनि हालतमा नहुने भन्दै त्यसप्रति प्रतिवद्ध रहेको बताएका हुन् ।
“वैज्ञानिक आविस्कारको क्षेत्रलाई अगाडि नबढाइकन नेपालको विकास हुँदैन” उनले भने, “नेपाल स्वतन्त्र भएर आत्मसम्मानको साथ बाँच्ने अवस्थातिर जाँदैन।”
वर्तमान युग विज्ञान र प्रविधिको भएकाले कुनै पनि देशको अस्तित्वका लागि यसका विकास अपरिहार्य भएको उनको भनाई थियो ।
विज्ञान र प्रविधिको क्षेत्रमा राज्यको यथेष्ट लगानी गर्नुपर्ने विषयमा ध्यानाकर्षण भएको बताउँदै प्रधानमन्त्रीले अहिले विद्यमान ऐन कानुन तथा कार्यान्वयनमा देखिएका समस्या हल गर्दै अघि बढ्नुपर्ने बताएका हुन् ।
बालुवाटारमा भएको छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीन बहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्रका विज्ञान प्रविधि विभाग प्रमुख गणेश साह, महासचिव देवप्रसाद गुरुङलगायतको उपस्थिति रहेको थियो ।


अनलाइन डबली


