
काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाले सुरु गरेको टुकुचा खोला खुल्ला गर्ने भन्दै गरेको उत्खनन कानुन विपरीत भएको ठहर गरेको छ । न्यायाधीश महेश शर्मा पौडेल र राज्यलक्ष्मी बज्राचार्यको आज बुधबार संयुक्त इजलासले काठमाडौं महानगरपालिकाले सुरु गरेको टुकुचा खोला उत्खनन गैरकानुनी भन्दै जग्गाधनीको पक्षमा फैसला गरेको हो ।
काठमाडौं महानगरपालिकाले टुकुचा खोला वर्षौंदेखि अतिक्रमण भएको र खोलामाथि बनेका संरचना हटाउन १३० वर्षअघि भूमिगत गरिएको टुकुचा खोला उत्खनन सुरु गरेको थियो । हात्तिसारस्थित जय नेपाल हलको कम्पाउण्डमा डोजरसहित पुगेको महानगरको टोलीले जमिनबाट १५ फिटमुनि टुकुचा खोलाको अंश भेटेपछि खुल्ला हुनेगरी फर्काउन खोजेको थियो ।
त्यसपछि टुकुचा खोलामाथि घर तथा जग्गा भएका जग्गाधनी र संघसंस्था गरी २२ जनाले उच्च अदालत पाटनमा रिट दिएका थिए । रिट निवेदकको कानुन व्यवसायी रहेका अधिवक्ता अमृत सापकोटाका अनुसार अब काठमाडौं महानगरपालिकाले टुकुचा खोला उत्खनन गर्न पाउने छैन ।
सो निवेदनमा प्रारम्भिक सुनुवाई गर्दै उच्च अदालतले टुकुचा उत्खनन नगर्न काठमाडौं महानगरपालिकाका नाममा अन्तरिम आदेश दिएको थियो ।
बुढानिलकण्ठदेखि सुरु हुने टुकुचा खोला थापाथलीको कालमोचनबाट वागमतीमा मिसिन्छ । यसको लम्बाई साढे ५ किलोमिटर रहेको छ ।जय नेपालहलदेखि काठमाडौं प्लाजासम्म ४ सय ५० मिटर खोला भूमिगत अबस्थामा रहेको छ ।