
काठमाडौं । आइतबार नेपाल आइपुगेकी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आजबाट औपचारिक उच्चस्तरिय भेटवार्ता गर्ने भएकी छन् ।
दुई दिने भ्रमणका लागि नेपाल आएकी भिक्टोरियाले आज प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्ने तयारी भइरहेको छ । प्रचण्ड प्रधानमन्त्री भएपछि सबैभन्दा उच्च तहको विदेशी नेता हुन् ।
त्यसैगरी भिक्टोरियाले एमाले अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समेत भेट्ने बताइएको छ । परराष्ट्र मन्त्री विमला राई पौड्यालसँगको भेटपछि भिक्टिरिया भोलि स्वदेश फर्किने परराष्ट्र मन्त्रालय स्रोतले बतायो ।
पूर्व राष्ट्रपतिहरु बाराक ओबामा र जर्ज डब्ल्यु बुस नेतृत्वको सरकारमा महत्वपूर्ण जिम्मेवारीहरु निभाएकी भिक्टोरिया ३३ वर्षदेखि अमेरिकी कूटनीतिज्ञ रहेकी थिइन् । हाल उनी अमेरिकाको उपविदेशमन्त्री रहेकी छन् ।
नेपालमा चुनावपछि भएको राजनीति परिवर्तन र अमेरिकी सहायता परियोजनाहरुको प्रगतिको जानकारी लिन भिक्टोरिया नेपाल आएको बताइएको छ । उनको भ्रमणले दुई देशबीचको बलियो दौत्य सम्बन्धमाथि बल पुग्ने अधिकारीहरुले बताएका छन् ।