
काठमाडौं । पहाडी र हिमाली क्षेत्रमा भारी हिमपात हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि देशको पश्चिमी भेगका उच्च पहाडी र हिमाली क्षेत्रमा मध्ययमदेखि भारी हिमपातको सम्भावना रहेको छ ।
मौसम तथा जलवायु विज्ञ धर्मराज उप्रेतीका अनुसार पश्चिमी वायुको प्रभावका कारण भोलि र पर्सि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका सबैजसो उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । यस्तै पहाडी र तराई क्षेत्रमा सामान्य वर्षा, चट्याङ र कतैकतै असिनाको समेत सम्भावना रहेको उप्रेतीले बताए ।
भारतको मौसम विभागले यो हिउँदमा पहिलो पटक हिमाञ्चल प्रदेश, जम्मु कश्मिर र पूर्वी राजस्थानमा ठूलो वर्षा र हिमपातको संभावना रहेकोले सावधानी अपनाउन चेतावनी दिएको छ । त्यही प्रणालीको असरले नेपालको पश्चिमी भेगमा हिमपात र वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।
वर्षा र असिनाका कारण तराईमा तोरी खेतीमा क्षति पुग्ने जाेखिम छ भने यातायात दुर्घटनाकाे जाेखिम पनि हुने भएकोले सावधानी अपनाउन आग्रह गरिएको छ ।