
काठमाडाैँ । पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्दैछ । सोमबार साँझबाट सुदूरपश्चिम हुँदै पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार सोमबार राति सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको छ भने सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हिमपातको सम्भावना रहेको छ।
मंगलबार पनि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।