काठमाडौँ । पहाडमा मौसम बदली हुने र तराईका अधिकांश भागमा हुस्सु लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार गण्डकी र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
महा राति सुदूरपश्चिम र कर्णालीमा आंशिकदेखि सामान्य बदली रहने छ भने सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बिहीबार सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ भने सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा साथै बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
लगातार तराई क्षेत्रमा हुस्सुका कारण जनजीवन प्रभावित हुँदै आएको छ । आइतबार र मंगलबार पश्चिच तराईमा हुस्सु फाटेर केही क्षेत्रमा घाम लागेको थियो । तर आज फेरि विहानैबाट बाक्लो हुस्सु लागेको छ ।