काठमाडौं । यति एयरलाइन्सको विमान दुर्घटनाले सिंगो देश शोकमा डुबेको छ । आइतबार बिहान १०ः ३० बजे काठमाडौंदेखि पोखराका लागि ६८ यात्रु बोकेर उडेको यती एयरलाइन्सको ९ एन–एएनसी विमान दुर्घटनामा भएको हो ।
यो नेपाली हवाई यातायातको सबैभन्दा ठूलो दुर्घटना हो । विमानमा ४ जना चालक दलका सदस्य र ६८ जना यात्रु सवार थिए ।
पछिल्लो विवरण अनुसार ३० जनाको शव संकलन गरेर अस्पताल पुर्याइएको छ भने ३४ जनाको शव खोँचमा देखिएको छ । दुई जनाको जीवित्तै उद्दार गरिएको बताइएपनि उनिहरुको स्वास्थ्य अवस्थाबारे जानकारी पाइएको छैन ।
यदि विमानमा सवार ७२ जनाकै मृत्यु भएमा यो नै आन्तरिक उडानतर्फ हालसम्मकै ठूलो दुर्घटना हुनेछ । यसअघि १४ मार्च २०१८ मा बंगलादेशबाट नेपाल आएको युएस–बङ्गला एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा ५१ जनाको मृत्यु भएको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सन् १९६० यता मात्र नेपाली आकासमा झण्डै ६० वटा विमान दुर्घटनामा परिसकेका छन् । जसमध्ये ३५ वटा विमान त सन् २००६ यतामात्र दुर्घटनामा परेका छन् । जसमा ६१८ जना यात्रुले ज्यान गुमाएका छन् ।
यसैबीच राष्ट्रिय शोकमा भोलि सरकारले सार्बजनिक बिदा दिने निर्णय गरेको छ । विमान दुर्घटनापछि आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् बैठकले भोलि सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
घटनाकाबारे परिवारजनलगायतलाई जानकारी दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णय भएको छ ।
सरकारले दुर्घटनाका कारण पहिचान गर्न पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा दुर्घटना जाँच आयोग गठन गरिएको छ । समितिलाई ४५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।
यति एयरलाइन्सको नाइन एन एएनसी जहाज आज बिहान १०ः५० बजे सेती खोंचबाट अन्तिम पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावरसँग सम्पर्क भएको थियो ।
जहाजमा नेपाली ५३ जना, भारतीय नागरिक ५ जना, रसियन ४ जना, आयरल्याण्डका १, अस्ट्रेलियन १, अर्जेन्टिनी १, कोरियन २, फ्रान्सेली १ गरी ६८ जना यात्रु र चालक दलका ४ जना थिए ।
त्यसैगरी विमानमा चालक दलका सदस्यहरू कमल केसी, अन्जु खतिवडा सृजना होंगचुन र ओसिन आले मगर थिए ।


अनलाइन डबली

