
काठमाडौं । आज माघी अर्थात मकर संक्रान्ति । अरुले हरेक माघ १ गते मकर संक्रान्तिको रुपमा मनाउँछन् भने थारु समुदायले नयाँ वर्षको रुपमा । आजबाट संवत २६४६ सुरु भएको छ । यो अबसरमा थारु समुदायले विभिन्न कार्यक्रम गरी मनाइरेका छन् ।
पुस ३० गते रातिबाटै नै थारु समुदायले मघौटा, धमार झुम्रा नाचसहित नयाँ वर्षको स्वागत गरेका थिए । काम विशेषले घर बहिर रहेकाहरू पनि माघी र नयाँ वर्ष मनाउन फर्कन थालेका छन् । थारु संवत २६४५ को बिदाई नयाँ वर्ष २६४६ को स्वागतका लागि विभिन्न कार्यक्रम आयोजना गरिएका छन् ।
आज थारु समुदायले नयाँ वर्षकै दिन थारु समुदायले भल्मन्सा, गुरुवाको चयन पनि गर्दै आएको छ । यसले एक वर्षसम्म थारु समुदायको कमाण्डरको काम गर्छन् ।
आज नयाँ गुरुवा चुन्ने र भोलि अर्थात माघ २ गते गाउँगाउँमा माघी दिवानी (विशेष छलफल) गरिन्छ । त्यस दिन छलफलका माध्यामबाट थारु समुदायमा नयाँ नेतृत्व चयन गर्ने परम्परा छ । जसलाई भलमन्सा भनिन्छ । नयाँ वर्षपछि गाउँमा गुरुवाको पनि चयन गर्ने गरिन्छ । उनीहरूले गाउँको रक्षा गर्ने, अप्ठारो परिस्थितीमा उचित निर्णय दिने, न्याय दिने लगायतका काम गर्ने गर्दछन् ।